राजनीति

सत्ता गठबन्धनको ‘निर्णायक बैठक’ सुरु

जगत ठाडा मगर
२०७८ फाल्गुन ६ | बिहान १०:११ बजे

काठमाडौं, फागुन ६ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्ता गठबन्धनको ‘निर्णायक बैठक’ प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बिहीबारको बैठक विनानिष्कर्ष टुंगिएकाले शुक्रबार पुन बैठक बस्न लागिएको हो ।

सत्ता गठबन्धनको बैठकअघि गठबन्धनमा आवद्ध एमसीसीविरोधी शीर्ष नेताको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता छिटोभन्दा छिटो संसदबाट अनुमोन गराउन चाहे पनि सत्तारुढ माओवादी केन्द्र, नेकपा एस र जसपाले मानेका छैनन् ।

माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अनुमोदन भए सरकारबाटै बाहिरिने निर्णय गरिसकेको छ । नेकपा एस र जसपा पनि यथास्थितिमा एमसीसी पारित गर्न नहुने अडानमा छ । यद्यपि, नेकपा एसका अध्यक्ष माधव नेपाललाई एमसीसीमा सहमति दिएरै भए पनि गठबन्धन जोगाउन निकटका नेताहरुले दबाब दिएका छन् । जसपाभित्र पनि एमसीसीबारे नेताहरुको एकमत छैन ।

हिजोको बैठकमा सहमति जुट्न नसकेपछि प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओलीनिवास पुगेका थिए । देउवाले ओलीलाई सत्तासाझेदारीको प्रस्ताव राखेको बताइएको छ ।आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । त्यसअघि एमसीसीलगायत विषयमा सहमतिमा पुग्न नेताहरू छलफलमा जुटेका हुन् ।

कमेन्टहरु