सत्ता गठबन्धनको बैठकअघि दाहाल–नेपालको छलफल


काठमाडौँ, फागुन ५ । सत्ता गठबन्धनको बैठकअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ । दुई नेताबीच सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा छलफल भएको हो ।
बालुवाटारमा साँझ ५ः०० बजे बस्ने सत्ता गठबन्धनको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा दाहाल र नेपालले छलफल गरिरहेका छन् । नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना (एमसीसी) अघि बढाउन चाहेपछि माओवादी केन्द्र र एकीकृत समाजवादीको त्यसमा असहमति जनाउदै आएका छन् । अहिलेकै अवस्थामा एमसीसी संसदमा पेश हुन नसक्ने उनीहरुको अडान छ ।
सरकारले बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गर्ने भने पनि सत्ता गठबन्धनभित्रै चरम असन्तुष्टि देखिएपछि सरकार पछि हटेको थियो । आज सत्ता गठबन्धनको ‘निर्णायक’ छलफल हुने बताइएको छ । कांग्रेस गठबन्धन तोडिने अवस्था आए पनि एमसीसीबाट पछि नहट्ने पक्षमा देखिएपछि माओवादी र एकीकृत समाजवादीलाई गठबन्धनमा रहिरहने कि बाहिरिने भन्ने चुनौती छ ।
माओवादीले संसदबाट एमसीसी पास भए सरकार छाड्ने निर्णय गरिसकेको छ ।






















