एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै


काठमाडौं, फागुन ५ । एमसीसीबारे निर्णय लिन सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरू छलफलमा जुट्दै छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बैठक तय गरिएको छ ।
आजको बैठकले संसद्मा एमसीसी अघि बढ्ने/नबढ्ने वा कसरी अघि बढ्छ भन्ने टुंगो लगाउन सक्छ । बुधबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलपछि आजको बैठक तय गरिएको हो ।
एमसीसी अनुमोदनका लागि बुधबार प्रतिनिधिसभामा टेबल गर्ने चर्चा भएपनी कार्यसूचीमै परेन । प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी सम्झौता पास गर्ने पक्षमा रहेको पछिल्ला गतिविधिले देखाएको छ । बुधबारै माओवादी केन्द्र संसदीय दलको बैठकले अहिलेकै अवस्थामा एमसीसी संसद्मा अघि बढाए सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
बुधबारको संसद् बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ६ गतेको संसद् बैठकमा एमसीसी टेबल गर्ने बताएका छन् । त्यसैले पनि आजको गठबन्धनका नेताहरूको छलफललाई निकै महत्त्वका साथ हेरिएको छ ।






















