६ गतेको बैठकमा एमसीसी टेबल हुन्छ, सहमतिको प्रयास गर्छौं : कानूनमन्त्री बडू

जगत ठाडा मगर
२०७८ फाल्गुन ४ | मध्यान्ह ०२:११ बजे

काठमाडौं, फागुन ४ । कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले अमेरिकी सहायता परियोजना (एमसीसी)संसदमा टेबल गर्नुपर्ने बताएका छन् ।
बुधबारको बैठकमा एमसीसी टेबल नभएपछि बैठकपश्चात् पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बडूले विवादबारे बहस गर्न पनि संसदमै लैजानुपर्नेमा जोड दिए । ‘यो संसदमा टेबल हुनुपर्छ,’ उनले भने, ‘संसद सार्वभौम संस्था हो । बाहिरको बहस टुंग्याउनका लागि पनि सदनमै जानुपर्छ ।’
बडूले थप छलफलका लागि शुक्रबारसम्म बैठक स्थगन गरेको र त्यतिबेलासम्म सहमतिको प्रयास रहने बताए । ‘छलफलका लागि अरु समय चाहिन्छ भने पछि हामीले थप एक दिनको समय दियौं’, उनले भने, ‘६ गतेको बैठकमा टेबल हुन्छ । यसका लागि हामी प्रयास गर्छौं ।’






















