रुपन्देहीको दुई गाउँपालिकाका अध्यक्षसहित नेता कार्यकर्ताहरु एमालेमा प्रवेश


बुटवल, फागुन २ । रुपन्देही जिल्लाको दुई गाउँपालिकाका अध्यक्ष नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेलले सोमबार एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्षद्वयलाई पार्टीमा स्वागत गरेका हुन् ।
माओवादी केन्द्रबाट निर्वाचित भएका ओमसतिया गाउँपालिकाको अध्यक्ष हिरा केवट र उपाध्यक्ष सुन्दरमती हरिजन तथा जनता समाजवादी पार्टी (जसपा) बाट गत स्थानीय निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव एमालेमा प्रवेश गरेका छन् ।
एमाले प्रवेश गरेका अध्यक्षद्धयसँगै अन्य स्थानीय नेता तथा कार्यकर्ताहरु पनि एमालेमा प्रवेश गरेका छन् । एमालले रुपन्देहीको धकधईमा सोमबार कार्यक्रम आयोजना गरेको थियो । एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीकाअनुसार ओमसतियाको सिंगो माओवादी कमिटी एक हजार २०० सदस्यसहित एमालेमा प्रवेश गरेका हुन् ।
एमाले उपाध्यक्ष विष्णु पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा बहुमत स्थानमा जित हासिल गर्ने दावी गरेका छन् । “२०७४ सालमाजस्तै एमालेको देशव्यापी जनलहर बढेको छ, यसबाट आगामी निर्वाचनमा बहुमत स्थानमा विजयी हुने संकेत देखिएको छ” उनले भने ।
उपाध्यक्ष पौडेलले वर्तमान सत्ता गठबन्धनले निर्वाचन भाँड्ने र मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरेको आरोप समेत लगाएका छन् । न्यायालयमाथि गरिएको पछिल्लो प्रहार त्यसको संकेत गरेको उनको भनाई छ ।






















