प्रधानमन्त्री शाह र मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन

नवलपुर टुडे

सारांश
- प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले जनकपुरधाम र अयोध्याबीचको नयाँ रेल सेवाको संयुक्त रूपमा भर्चुअल उद्घाटन गरेका छन्।
- ‘जनकपुरधाम–अयोध्या क्यान्ट एक्सप्रेस’ नामक यो रेल सेवाले दुई धार्मिक सहरबीचको आवागमन सहज बनाउँदै धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनेछ।
- सातामा एक दिन दुवैतर्फ सञ्चालन हुने यस रेल सेवाबाट यात्रीहरूले एउटै रेलमार्फत सीमापार यात्रा गर्न सक्ने सुविधा प्राप्त गर्नेछन्।

नयाँ दिल्ली । प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम–अयोध्याबीच सञ्चालन हुने रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले आज भर्चुअल माध्यमबाट झण्डा फहराएर रेल सेवाको उद्घाटन गरेका हुन् ।
अयोध्याबाट जनकपुरधामसम्मको करिब ६०४ किलोमिटर दूरी रेलमार्फत करिब १९ घण्टामा पूरा हुनेछ । उत्तर प्रदेश र बिहारका विभिन्न सहर हुँदै सञ्चालन हुने यो रेल सेवाले धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै दुई देशबीचको सीमापार आवागमन सहज बनाउने अपेक्षा गरिएको छ ।
‘जनकपुरधाम–अयोध्या क्यान्ट एक्सप्रेस’ नाम दिइएको रेल भारतको बिहारस्थित जयनगर रेल्वे स्टेसन हुँदै नेपाल प्रवेश गर्नेछ । रेलले जनकपुरधाम, जयनगर, मधुबनी, सिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर, अयोध्या धाम र अयोध्या क्यान्ट स्टेसनमा यात्रु चढाउने तथा ओराल्नेछ ।
रेल सेवा सातामा एक दिन दुवैतर्फ सञ्चालन हुनेछ । जनकपुरधामबाट अयोध्या क्यान्टसम्म जाने रेलको नम्बर १५५९५ र अयोध्या क्यान्टबाट जनकपुरधाम आउने रेलको नम्बर १५५९६ निर्धारण गरिएको छ ।
जनकपुरधामबाट अयोध्या जाने रेल शनिबार दिउँसो १:१० बजे प्रस्थान गरी आइतबार बिहान अयोध्या क्यान्ट पुग्ने तालिका छ । त्यस्तै, अयोध्या क्यान्टबाट सोमबार साँझ ५:५० बजे प्रस्थान गर्ने रेल मंगलबार दिउँसो १२:४० बजे जनकपुरधाम पुग्नेछ । नेपालका रेल स्टेसनमा तोकिएका समय भारतीय समयभन्दा १५ मिनेट अगाडि हुने भएकाले यात्रुले स्थानीय समयअनुसार तालिका हेर्नुपर्नेछ ।
अयोध्या भगवान् रामको जन्मस्थल र जनकपुरधाम माता सीताको जन्मस्थलका रूपमा धार्मिक महत्त्व बोकेका स्थान हुन् । रामायण परम्पराअनुसार यी दुई स्थानबीच वैवाहिक सम्बन्ध जोडिएको मानिन्छ । नयाँ रेल सेवाबाट धार्मिक पर्यटक, आफन्त भेटघाटका लागि यात्रा गर्ने व्यक्ति, विद्यार्थी र व्यवसायी लाभान्वित हुनुका साथै पर्यटन व्यवसायमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
यसअघि भारतबाट रेलमार्फत जनकपुरधाम जाने यात्रुले बिहारको जयनगर पुगेर सीमासम्बन्धी प्रक्रिया पूरा गरेपछि नेपालतर्फको रेल परिवर्तन गर्नुपर्ने व्यवस्था थियो । नयाँ सेवाबाट आवश्यक सीमासम्बन्धी जाँच पूरा गरेपछि एउटै रेलमा यात्रा जारी राख्न सकिने सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

अयोध्याबाट १ हजार १५८ यात्री लिएर जनकपुर आउँदैछ रेल

इरानले एकै सातामा वर्षकै सर्वाधिक ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको ट्रम्पको दाबी

प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली

पुर्ख्यौली धानखेतीबाट वार्षिक चार लाखभन्दा बढी आम्दानी

काठमाडौं उपत्यकामा २४ घण्टामा ५६६ सवारीसाधनमाथि कारबाही
अरुपनि पढ्नुहोस
सबै

देवघाटधामको प्रचारप्रसार गर्दै आजदेखि गण्डकी परिक्रमा महोत्सव सुरु

आज वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

भारतीय समकक्षी मोदीसँग आज भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन
















