आज वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

रासस

सारांश
- कार्तिक शुक्ल चतुर्दशीका दिन आज देशभर स्नान, दान, जप र ध्यान गर्दै वैकुण्ठ चतुर्दशी पर्व मनाइँदैछ।
- यस दिन भगवान् विष्णु र शिवको पूजा तथा आराधाना गर्नाले ठूलो पुण्य प्राप्ति हुने धार्मिक विश्वास रहेको छ।
- आजकै दिन भगवान् विष्णु वैकुण्ठ धाम फर्कनुभएको र हरिहर मिलन हुने विश्वासका साथ यो पर्व विशेष रूपमा मनाइन्छ।

काठमाडौँ, मङ्सिर ७ । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व आज स्नान, दान, जप, ध्यान गरी मनाइँदैछ । वैकुण्ठ चतुर्दशीमा नदीमा स्नान गरी जप, ध्यान एवं दान गर्दा पुण्य पाइने विश्वास छ । वैकुण्ठ चर्तुदशीमा भगवान् विष्णुको पूजा गरी रातमा जागरण गर्ने गरिन्छ । चर्तुदशीको सम्बन्ध शिव, विष्णु दुवैसित रहेको मानिन्छ । शिवसँग सम्बन्ध भएकोलाई शिववैकुण्ठ र विष्णुसित सम्बन्ध भएकोलाई विष्णुवैकुण्ठ भनिन्छ । शिवपूजाको लागि अरुणोदयव्यापी चर्तुदशी उत्तम मानिएको छ भने उपवास ९व्रत०का लागि अहोरात्र ९रातदिन०को अरुणोदय चर्तुदशीले युक्त दिनलाई उपयुक्त मानिएको छ ।
भगवान् विष्णुका धेरै नाममध्ये एक नाम वैकुण्ठ पनि हो । कुण्ठा नभएको ज्ञान वा स्थान जसको आश्रय छ त्यसलाई वैकुण्ठ भनिन्छ । यसैगरी जीवनलाई नियन्त्रण गर्ने र ज्ञान दिने रुपमा जसको प्रसिद्धि छ त्यसलाई पनि वैकुण्ठ भनिन्छ । त्यस्तै महाभारतको शान्ति पर्वमा आफ्ना बहुसङ्ख्यक नामको व्युत्पति भगवान् स्वयंले बताउनुभएको छ ।
गतिनिरोधक गर्नेलाई विकुण्ठ भनिन्छ र त्यो सम्पादन गर्नेलाई वैकुण्ठ भनिन्छ । जगत् सृष्टि गर्ने क्रममा भगवान्ले पृथ्वीलाई जलसित आकाशलाई वायुसित र वायुलाई तेजका साथ अविचल हुने गरी मिलाएकाले उहाँको नाम वैकुण्ठ रहेको भन्ने पौराणिक मान्यता पनि छ ।
यस दिन सके पूजा गर्ने नसकेमा विष्णुका नाममात्रको उच्चारणले पनि ठूलो पुण्य प्रदान गर्छ र आपत् विपत्बाट बचाउने विश्वास गरिन्छ । भगवान् विष्णुका सबै नाम ऐश्वर्य, स्वामित्व, व्यापकता, परोपकार, दुष्टदमन, लोकसंरक्षक आदि गुणको सम्बन्धले युक्त छ ।
धर्मराज युधिष्ठिरले भीष्मसित यस विषयमा धेरै कुरा सोधेको महाभारतको शान्तिपर्वमा उल्लेख छ । भीष्मले विष्णु स्तुति गर्दा वा जप्दा नै व्यक्ति सम्पूर्ण दुःखदेखि पार हुनसक्छ भनेर युधिष्ठिरलगायत पाँच पाण्डवलाई सम्झाएको वर्णन महाभारतमा छ । भीष्मले गरेको यो स्तुति गानको समय भएकाले आजको दिनदेखिलाई भीष्मपञ्चक पनि सुरु हुन्छ ।
देवताका पनि देवता विष्णु सर्वाधिक रुपले पुजनीय मानिनुहुन्छ । भगवान् विष्णुकै गणस्थलबाट पैदा भएकाले गण्डकी नाम रहन गएको पौराणिक मान्यता छ । दामोदर कुण्ड पनि कालीको शिर मानिएको छ । दामोदर पनि भगवान् विष्णुसँगको नामसँग सम्बन्धित रहेको छ । काठमाडौँ उपत्यकामा रहेका र बग्ने नदीमध्ये एकको नाम छ विष्णुमती । जसको उत्पति विष्णुपादुकाबाट भएको हो । विष्णुपादुका डाँडाको फेदमा रहेको बूढानीलकण्ठ विष्णु मूर्ति मान्यताको साथै कलात्मकताका दृष्टिले पनि सुप्रसिद्ध रहेको छ ।
भगवान् विष्णु पालनकर्ताका रुपमा स्थापित भई सबैलाई पालन गरेर रहने क्रममा जागा भई वैकुण्ठाधिपति भगवान् वैकुण्ठ धाममा जानुभएको थियो । आजैका दिन विष्णु वैकुण्ठधाम जानुभएको पौारणिक मान्यता रहेको पण्डित बालमुकुन्दे देवकोटा बताउनुहुन्छ ।
हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णुले त्यस अवधिमा कार्यभार भगवान् शिवलाई दिनुभएको थियो । आज त्यो कार्यभार भगवान् शिवले विष्णुलाई दिएर कैलाश जानुहुने विश्वास पनि गरिन्छ । यसैले आजको दिनलाई हरि र हर मिलनको उत्सवका रूपमा पनि मनाइन्छ ।

भारतीय समकक्षी मोदीसँग आज भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन

विदेशमा आर्जित रकम र सीप उद्यममा लगाउँदै मनिषकुमार

विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपछीपालन

आज हिमाली भेगमा हल्का हिमपात हुन सक्ने

पञ्चकोटमा १०८ फिट अग्लो ‘विश्वशान्ति गण्डकी कलश’ निर्माणले लियो गति
अरुपनि पढ्नुहोस
सबै
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर


कांग्रेस रुपन्देहीको सङ्कल्प : आन्तरिक एकता बलियो बनाउँदै आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने लक्ष्य

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
















