Opens in a new tab

कांग्रेस रुपन्देहीको सङ्कल्प : आन्तरिक एकता बलियो बनाउँदै आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने लक्ष्य

नवलपुर टुडे

399Shares

सारांश

  • नेपाली कांग्रेस रुपन्देहीले महाधिवेशनबाट निर्वाचित विभिन्न तहका नेतृत्वलाई सम्मान गर्दै आन्तरिक प्रतिस्पर्धाको अन्त्य गरी पार्टीलाई एकताबद्ध बनाएर लैजाने निर्णय गरेको छ।
  • कार्यक्रममा वक्ताहरूले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिल्लाको पहिलो शक्ति बनाउन विजयी तथा उपविजेता सबै नेता र कार्यकर्तालाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
  • बदलिँदो राजनीतिक परिवेशमा पार्टीविरुद्ध हुने भ्रमपूर्ण प्रचारको प्रतिवाद गर्दै डिजिटल माध्यमको प्रभावकारी प्रयोगमार्फत जनमत निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
dida bag ad

बुटवल । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्वमा पुगेका नेता तथा कार्यकर्तालाई एकै ठाउँमा उभ्याउँदै संगठन सुदृढ बनाउने र आगामी निर्वाचनमा विजय हासिल गर्ने रणनीतिमा नेपाली कांग्रेस जुट्न थालेको छ। यसै विषयलाई मनन गरी नेपाली कांग्रेस रुपन्देहीले हालै सम्पन्न १५औँ महाधिवेशनबाट जिल्लाका विभिन्न पालिका, प्रदेश तथा नगर तहमा निर्वाचित नेतृत्वलाई सम्मान गरेको छ।सम्मान समारोह केवल निर्वाचित नेतृत्वको बधाई र शुभकामनामा मात्र सीमित रहेन।

कार्यक्रममा सहभागी नेताहरूले पार्टीभित्रको गुटगत र आन्तरिक प्रतिस्पर्धाभन्दा माथि उठेर संगठन निर्माणमा एकजुट हुनुपर्नेमा जोड दिए। आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई पहिलो शक्तिका रूपमा स्थापित गर्न अहिलेबाटै साझा प्रतिबद्धताका साथ अघि बढ्नुपर्ने उनीहरूको भनाइ थियो।

 कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले पार्टीलाई बलियो र जिल्लाकै पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न विजयी, उपविजेता तथा जिम्मेवारीबाहिर रहेका सबै नेता–कार्यकर्तालाई समेटेर अघि बढ्नुपर्ने बताउनुभयो। निर्वाचनमा प्रतिस्पर्धा स्वाभाविक भए पनि त्यसपछि सबैलाई मिलाएर संगठन निर्माणमा जुट्नु नेतृत्वको जिम्मेवारी भएको उहाँको भनाइ थियो।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले निर्वाचित नेतृत्वले पार्टीको भावी दिशा र राजनीतिक भूमिकाबारे गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो। कांग्रेसलाई आगामी स्थानीय तहको निर्वाचनमा कसैले पनि कमजोर शक्तिका रूपमा हेर्न नसक्ने गरी संगठन र जनतामाझको उपस्थिति बलियो बनाउन उहाँले आग्रह गर्नुभयो।

नेपाली कांग्रेस बुटवल नगर सभापति प्रजापाल गिरीले बदलिँदो राजनीतिक परिवेशमा पार्टीको पक्षमा जनमत निर्माण गर्न डिजिटल माध्यमको प्रभावकारी प्रयोग आवश्यक रहेको औँल्याउनुभयो। पार्टीविरुद्ध उठ्ने गलत प्रचार र भ्रमको सशक्त प्रतिवाद गर्दै आफ्ना विचार र एजेन्डा जनतासम्म पु¥याउनुपर्ने उहाँको धारणा थियो।

त्यस्तै, नेपाली कांग्रेसका पूर्व उपसभापति तथा सैनामैना नगरपालिकाका नगरप्रमुख फणीन्द्र शर्माले पार्टीबाट विभिन्न जिम्मेवारीमा पुगेका नेता तथा जनप्रतिनिधिले संगठन निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। पार्टीको नेतृत्व र अवसर प्राप्त गरेपछि संगठनलाई बिर्सने प्रवृत्ति अन्त्य हुनुपर्ने भन्दै उहाँले सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो।

कार्यक्रममा पार्टीका कोषाध्यक्ष हरिप्रसाद अर्यालले स्वागत गर्नुभएको थियो। प्रदेशसभा क्षेत्र ४(ख) का सभापति पदमपाणि भण्डारी, लुम्बिनी सांस्कृतिक नगरपालिकाका सभापति वीरेन्द्रबहादुर त्रिपाठी,सहित विभिन्न तहका नेताहरूले पनि पार्टीलाई बलियो बनाउन आन्तरिक एकता र सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभएको थियो।

कार्यक्रमको सञ्चालन सहसचिव विष्णु थापाले गर्नुभएको थियो।आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने लोकतान्त्रिक अभ्यासलाई संगठनात्मक एकतामा रूपान्तरण गर्न सक्नु नै कांग्रेसको आगामी राजनीतिक यात्राको महत्त्वपूर्ण परीक्षा हुनेछ। निर्वाचित र पराजित दुवै पक्षलाई समेट्दै जनतामाझ विश्वास पुनः स्थापित गर्न सके मात्रै आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसले आफ्नो राजनीतिक प्रभाव विस्तार गर्न सक्नेछ।

त्यसैले सम्मान समारोहमा व्यक्त एकताको प्रतिबद्धता व्यवहारमै कार्यान्वयन हुन्छ वा हुँदैन भन्ने कुराले नै कांग्रेसको आगामी चुनावी यात्राको दिशा निर्धारण गर्ने देखिन्छ।