प्रेस काउन्सिल अध्यादेश फिर्ता लिन र मिडियामाथिको हस्तक्षेप रोक्न पत्रकार महासंघको माग

नवलपुर टुडे

सारांश
- नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल अध्यादेश फिर्ता लिन, सञ्चारमाध्यममाथिको सरकारी हस्तक्षेप बन्द गर्न र सञ्चार कानुनहरू विधायिकी प्रक्रियाबाट बनाउन माग गरेको छ।
- महासंघले समाचार कक्षमा प्रहरी प्रवेश गर्ने, पत्रकारलाई धम्क्याउने, स्रोत खोल्न बाध्य पार्ने कार्यको निन्दा गर्दै सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न माग गरेको छ।
- पत्रपत्रिकाको लोककल्याणकारी विज्ञापन कटौती नगर्न, राष्ट्रिय सूचना आयोगमा पदाधिकारी नियुक्त गर्न तथा न्यायपालिकाको स्वतन्त्रता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

काठमाडौँ । नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल अध्यादेश फिर्ता लिन र सञ्चारमाध्यममाथिको सरकारी हस्तक्षेप तत्काल बन्द गर्न माग गरेको छ । काभ्रेको धुलिखेलमा मंसिर ५ र ६ गते आयोजित सरोकारवालाहरूसँगको सम्मेलन तथा बैठकबाट पारित १६ बुँदे प्रस्ताव–२०८३ सार्वजनिक गर्दै महासंघले यस्तो माग गरेको हो ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा सोमबार जारी विज्ञप्तिअनुसार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, मानव अधिकार, विधिको शासन, सूचनाको संकुचन र प्रस्तावित सञ्चार कानुनका विषयमा गहन छलफल गरी प्रस्ताव पारित गरिएको छ । सम्मेलनले संविधान र प्रचलित कानुनद्वारा प्राप्त मौलिक हकको प्रयोग संकुचित र नियन्त्रित हुँदै गएको भन्दै संविधानको अक्षरशः पालना गर्न सरकारसँग माग गरेको छ । प्रस्तावित प्रेस काउन्सिल अध्यादेश फिर्ता लिई सरोकारवालाहरूसँगको बृहत् छलफल र सहमतिका आधारमा विधायिकी प्रक्रियाबाट मिडिया काउन्सिल विधेयक तथा आमसञ्चार विधेयकलगायतका कानुन निर्माण गर्न महासंघले जोड दिएको छ ।
यस्तै, प्रेस काउन्सिलमा नेपाल पत्रकार महासंघको प्रतिनिधित्व नहुने व्यवस्था गरिएमा काउन्सिलले जारी गरेको आचारसंहिता पालना गर्न महासंघ बाध्य नहुने र आफैँ आचारसंहिता जारी गरी अघि बढ्ने घोषणा गरिएको छ । विज्ञप्तिमा प्रेस काउन्सिल, पत्रकार तथा आमसञ्चारमाध्यममाथि भइरहेको गैरकानुनी सरकारी हस्तक्षेप र नियन्त्रण बन्द गर्न माग गरिएको छ । विश्वव्यापी मान्यताविपरीत पत्रकारलाई सूचनाको स्रोत खोल्न बाध्य पार्ने, प्रेस काउन्सिल र प्रहरी प्रशासनबाट केरकार तथा धम्की दिने कार्य तत्काल रोक्न सम्मेलनले आग्रह गरेको छ ।
सञ्चारमाध्यमको मुख्यद्वारमा सवारी अवरोध गर्ने र समाचार कक्षमै प्रहरी प्रवेश गरी स्रोत खोज्ने कार्यको घोर निन्दा गर्दै महासंघले उक्त घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ । समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने तथा मोबाइल, ल्यापटप र क्यामेरा नियन्त्रणमा लिई तथ्यांक मेटाउन बाध्य पार्ने सरकारी रवैया अन्त्य गर्न पनि भनिएको छ ।
सरकारी स्वामित्वका गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समिति (रासस) बाट बिनाकारण एकैपटक ठूलो संख्यामा हटाइएका सबै पत्रकारलाई तत्काल पुनर्बहाली गर्न महासंघले माग गरेको छ । यसैगरी, पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापन कटौती नगर्न, प्रदेशस्तरमा दर्ता भएका सञ्चारमाध्यमलाई प्रदेश संरचनाबाटै दर्ता तथा नवीकरणको सहज व्यवस्था मिलाउन र निःशुल्क सूचना प्रवाह गरिरहेका एफएम रेडियोहरूमाथि लगाइएको दोहोरो–तेहोरो कर प्रणाली अन्त्य गर्न सम्मेलनले ध्यानाकर्षण गराएको छ ।
लामो समयदेखि नेतृत्वविहीन रहेको राष्ट्रिय सूचना आयोगमा पदाधिकारी नियुक्त गरी सूचनाको हक कार्यान्वयनमा अवरोध नगर्न महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । अदालतमाथिको राजनीतिक हस्तक्षेप अन्त्य गरी न्यायपालिकाको स्वतन्त्रता सुनिश्चित गर्न तथा बन्दी प्रत्यक्षीकरणलगायत मौलिक हकसम्बन्धी रिट निवेदन दर्ता गर्न अस्वीकार वा ढिलाइ गर्ने कार्य तत्काल रोक्न माग गरिएको छ । विभिन्न पेसाकर्मीहरूको भयमुक्त वातावरणमा पेसा सञ्चालन गर्न पाउने अधिकारको संरक्षण गर्न माग गर्दै महासंघले पारित सबै प्रस्तावहरूमा शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) को समेत ऐक्यबद्धता रहेको जनाएको छ । सम्मेलनमा महासंघका पदाधिकारी, पूर्वअध्यक्षहरू, विभिन्न सञ्चारमाध्यमका सम्पादक, नेपाल बार एसोसिएसनका पदाधिकारी, कानुन व्यवसायी र प्रेससम्बद्ध संघ–संगठनका प्रतिनिधिहरूको सहभागिता थियो ।


प्रेस काउन्सिल अध्यादेश फिर्ता लिन र मिडियामाथिको हस्तक्षेप रोक्न पत्रकार महासंघको माग

कागजमै तालिम,डेराबाटै चेक: गरुडा नगरपालिकामा हाकिम नाथु र लेखापाल राजेशको ब्रह्मलुट

महिलामन्त्री बादीद्वारा राउटे समुदायसँग संवाद

उपत्यकामा ५६६ सवारी चालक कारबाहीमा

ट्रम्पसँग भेट नभएपछि किमको जोड सार्वभौमिकतामा
अरुपनि पढ्नुहोस
सबै
नेपाललाई भारतले गर्यो दुई खर्ब ४० अर्बबराबरको विकास सहयोग प्याकेज घोषणा

प्रधानमन्त्री शाह र मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

प्रधानमन्त्री शाह र मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन

अयोध्याबाट १ हजार १५८ यात्री लिएर जनकपुर आउँदैछ रेल
















