Opens in a new tab

कागजमै तालिम,डेराबाटै चेक: गरुडा नगरपालिकामा हाकिम नाथु र लेखापाल राजेशको ब्रह्मलुट

अशोक यादव

325Shares

सारांश

  • रौतहटको गरुडा नगरपालिकामा लेखापाल राजेश साह र प्रमुख प्रशासकीय अधिकृत नाथु साह मिलेर विकास बजेटमा चरम भ्रष्टाचार र अनियमितता गरेको आरोप स्थानीयले लगाएका छन्।
  • उनीहरूले प्रक्रिया छल्न साना बिल बनाएर सोझै खरिद गर्ने, तालिम तथा गोष्ठीहरू कागजमै सीमित राखी नक्कली बिलबाट भुक्तानी लिने र मापदण्डविपरीत करारमा कर्मचारी भर्ना गर्ने गरेका छन्।
  • अनियमितता बढेपछि विकास निर्माणका काम ठप्प भएका छन् भने स्थानीय बासिन्दाले दुवै अधिकारीको अकुत सम्पत्तिमाथि छानबिन गर्न माग गरेका छन्।
dida bag ad

मंसिर -७ ,रौतहट । रौतहटको गरुडा नगरपालिकामा चरम भ्रष्टाचार र बेथिति बढेपछि स्थानीय आक्रोशित बनेका छन् । लेखापाल राजेश साह र प्रमुख प्रशासकीय अधिकृत नाथु साहले नगरको विकास निर्माणका लागि आएको बजेट दुरुपयोग गरेपछि गरुडाका विकास निर्माणका काम ठप्प भएका छन् ।

​लेखापाल साहको सक्रियतामा सामाजिक विकास र पूर्वाधार निर्माणका काममा ठूलो अनियमितता तथा कमिसनको चलखेल भएको आरोप छ । लेखापाल साहले बितेको आर्थिक वर्षको अन्त्य (असार मसान्त) मा हतारमा गुणस्तरहीन काम गर्ने वा अधुरो कामकै प्राविधिक मूल्याङ्कन तयार पार्न लगाई विभिन्न योजनाको शतप्रतिशत भुक्तानी गरेको आरोप लागेको छ ।

​मेयर कन्थमणी जयसवालको आशीर्वाद र आग्रहमा गरुडा नगरपालिका आएका लेखापाल राजेश साह र प्रमुख प्रशासकीय अधिकृत नाथु साहले बोलपत्र प्रक्रिया छल्न फर्निचर, विद्युतीय सामग्री र मसलन्दजस्ता एउटै प्रकृतिका सामान साना-साना बिल बनाएर कोटेसन वा सोझै खरिद गर्ने काम गरेको स्थानीयले बताएका छन् ।

दुवैले नगरपालिकालाई अकुत सम्पत्ति आर्जनको स्रोत बनाएको बताउँदै स्थानीय धिरेन्द्र यादवले भन्नुभयो, “सामान खरिद गरेको बिल पेस गर्ने तर जिन्सी खातामा दाखिला नदेखाउने वा आवश्यकताभन्दा बढी मूल्यमा खरिद गर्ने गरेका छन् । यहाँ त भ्रष्टाचारभन्दा पनि ठूलो डकैती जारी छ ।”

​लेखापाल साह स्वयंले सवारीसाधन, मेसिनरी वा कार्यालय उपकरण मर्मतका नाममा अस्वाभाविक बिल पेस गरी भुक्तानी लिने गरेको एक कर्मचारीले नाम नबताउने सर्तमा बताए ।

देशमा भ्रष्टाचार हटाउन बनेको बालेन साह नेतृत्वको सरकारलाई अटेरी गर्दै महिला, दलित, बालबालिका, युवा वा कृषक लक्षित सीपमूलक तालिम, जनचेतना कार्यक्रम र गोष्ठी कागजमै सीमित राखी भत्ता, खाजा र स्टेसनरीको नक्कली बिल बनाएर भुक्तानी दिएकोले लेखापाल साहले काटेका चेकको भुक्तानी शीर्षकमाथि गहन छानबिन हुनुपर्ने स्थानीयको माग छ ।

​यति मात्र होइन, नेपाल सरकारको मापदण्डविपरीत आसेपासेलाई करार वा ज्यालादारीमा नियुक्ति गरी तलब-भत्ता खुवाएको आरोप पनि लेखापाल साहमाथि छ ।

सवारीसाधनको लगबुक नराखी वा बिदाको दिन तथा निजी काममा प्रयोग भएका सवारीसाधनको समेत कार्यालयबाट इन्धन कुपन जारी गर्ने लेखापाल राजेश साह र अधिकृत नाथु साहको सम्पत्ति छानबिन हुनुपर्ने स्थानीयको माग छ ।

​अफिस छाडेर चन्द्रपुर (चपुर) को डेराबाट चेक काट्ने गरेका हाकिम र लेखापालसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा दुवै सम्पर्कविहीन छन् ।