Opens in a new tab

भोटेकोशी बाढीपीडितद्वारा पुनः स्थापनाको माग

नवलपुर टुडे

299Shares
फाइल तस्बिर

सारांश

  • भोटेकोशी नदीको बाढीबाट विस्थापित भई काठमाडौँमा आश्रय लिइरहेका स्याफ्रुबेँसीका बासिन्दाले सुरक्षित पुनर्वास र जीविकोपार्जनका लागि ‘स्याफ्रुबेँसी बाढीपीडित कल्याण समाज’ गठन गरेका छन्।
  • विस्थापित समुदायले आफ्ना तत्कालीन तथा दीर्घकालीन आवश्यकता समेटिएको मागपत्र रसुवाका प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवाला निकायमा बुझाएका छन्।
  • प्रभावित बासिन्दाले कष्टकर अस्थायी जीवनबाट मुक्ति पाउन र सुरक्षित बासस्थानको व्यवस्थाका लागि सरकारसँग जोडदार माग गरेका छन्।
dida bag ad

रसुवा । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण विस्थापित भई हाल काठमाडौँको गोसोक गुम्बास्थित अस्थायी आश्रयस्थलमा बसोबास गर्दै आएका स्याफ्रुबेँसीका नागरिकले आफ्नो जीविकोपार्जन पुनः स्थापना र सुरक्षित पुनर्वासका लागि सामूहिक पहल सुरु गरेका छन् ।

स्याफ्रुबेँसी बाढीपीडित कल्याण समाजका अध्यक्ष भुज्युङ तामाङले विस्थापित भएको करिब तीन महिना बितिसक्दा पनि सामान्य जीवनमा फर्किन पीडित सङ्घर्षरत रहेका भन्दै सबै एकताबद्ध भएर ‘स्याफ्रुबेँसी बाढीपीडित कल्याण समाज’ गठन गरी सुरक्षित पुनः स्थापनाको माग गरिएको बताए ।

विस्थापित समुदायको सामूहिक प्रयासमा स्थापित समाजले पीडितका तत्कालीन, अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालीन आवश्यकता समेटिएको मागपत्र सरोकार भएका निकायमा पेश गरिसकेको छ । समाजले जिल्ला प्रशासन कार्यालय रसुवा, जिल्ला समन्वय समिति रसुवा, सशस्त्र प्रहरी बल नेपाल नं २० गुल्म हेडक्वाटर धुन्चेलगायत सम्बन्धित निकायमा उक्त मागपत्र बुझाएको उनले जानकारी दिए ।

जीविकोपार्जनको पुनः स्थापना, पुनर्वास, पुनर्निर्माण तथा सुरक्षित स्थानमा स्थानान्तरणका कार्य समयमै र प्रभावकारी रूपमा अघि बढाउन सरोकार भएका निकायसँग आवश्यक समन्वय र सहकार्य सुनिश्चित गर्नु समाजको मुख्य उद्देश्य रहेको अध्यक्ष तामाङले बताए ।

“आपसी सहयोग, सामूहिक जिम्मेवारी र निरन्तर एकताका माध्यमबाट मात्र हामीले वर्तमान चुनौतीलाई सामना गर्दै आफ्नो समुदायको सुरक्षित, दिगो र समुन्नत भविष्य पुनर्निर्माण गर्न सक्छौँ”, समाजले मागपत्रमा भनेको छ । गृहजिल्ला छाडेर काठमाडौँका अस्थायी शिविरमा कष्टकर जीवन बिताइरहेका बाढीपीडितले आफ्ना माग तत्काल सम्बोधन गरी सुरक्षित बासस्थानको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।