होस्टेलमा कुकुरलाई बिहान दूधभात, बेलुका ‘चिकनभात’

नवलपुर टुडे

सारांश
- बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको दीर्घकालीन व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको नेपालमै नमुना मानिएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ।
- नगरपालिकाले करिब एक करोड रुपैयाँको लागतमा निर्माण गरेको उक्त होस्टेलमा उद्धार गरिएका कुकुरहरूका लागि सुरक्षित आवास, नियमित खानपान तथा स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको छ।
- सडकका कुकुरबाट हुने जोखिम र रेबिज रोग नियन्त्रण गर्न चालिएको यो कदमले बागलुङ बजारको समस्या क्रमशः घट्दै गएको छ भने यसको अध्ययनका लागि अन्य स्थानीय तहका प्रतिनिधिहरू पनि आउन थालेका छन्।

बागलुङ । बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ । सडकका कुकुरको उद्धार गरी आवास, खानपान र उपचारको व्यवस्था गरिएको होस्टेल नेपालमै नमुना कार्यक्रमका रूपमा विकास हुँदै गएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले पाँच महिनादेखि सामुदायिक तथा भुस्याहा कुकुरको व्यवस्थापन गर्दै आएको छ । कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा समस्या देखिएपछि नगरपालिकाले उद्धार गरी होस्टेलमा राखेर स्याहारसुसार गर्न थालेको हो । नगरपालिकाको यो प्रयासबारे जानकारी लिन अन्य स्थानीय तहका प्रतिनिधिसमेत अध्ययनका लागि आउन थालेका छन् ।
बागलुङ बजारमा सडकका कुकुरबाट समस्या बढेपछि नगरपालिकाले दीर्घकालीन व्यवस्थापनको योजना अघि सारेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए । नगरपालिकाले पहिलो चरणमा ५० वटा कुकुर राख्न सकिने क्षमताको होस्टेल निर्माण गरी ३० वटा कुकुर राखेर व्यवस्थापन सुरु गरेको छ ।
नगरपालिकाले लामो समयदेखि सडकमा छाडिएका कुकुर सङ्कलन गर्ने अभियान सञ्चालन गर्दै बागलुङ नगरपालिका–३ स्थित पाँच रोपनी सार्वजनिक जग्गामा होस्टेल निर्माण गरेको हो । जग्गामा तारबारसहितको संरचना बनाउन रु एक करोड खर्च भएको नगरपालिकाको पशु शाखा प्रमुख मित्रप्रसाद सापकोटाले जानकारी दिए ।
नवप्रवर्तन कार्यक्रमअन्तर्गत बागलुङ नगरपालिकाले मुख्यमन्त्री कार्यालयको साझेदारीमा होस्टेल निर्माण गरेको हो । यसका लागि नगरपालिकाले रु ३५ लाख र मुख्यमन्त्री कार्यालयले रु ६५ लाख खर्च गरेका छन् ।
होस्टेलमा कुकुरका लागि आवास, खानपान र खुला क्षेत्रमा बस्ने व्यवस्था मिलाइएको छ । सामुदायिक कुकुरको व्यवस्थित संरक्षणका लागि नगरपालिकाले दुई वर्षअघि नै नीति तथा कार्यक्रममा होस्टेल निर्माण गर्ने लक्ष्य समावेश गरेको थियो ।
सडकमा छाडिएका कुकुरलाई होस्टेलमा राखेर खानपान र स्याहारको व्यवस्था गर्न थालेपछि बागलुङ बजारको समस्या क्रमशः घट्दै गएको पशु शाखा प्रमुख सापकोटाले बताए । उनका अनुसार कुकुरको टोकाइबाट हुने जोखिम कम गर्न बजारका करिब एक हजार ८०० कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ ।
मानिस र कुकुर दुवैको सुरक्षालाई ध्यानमा राखेर होस्टेल सञ्चालन गरिएको उनले बताए । सडकमा छाडिएका कुकुरले यात्रुलाई टोक्ने तथा सवारी दुर्घटनाको जोखिम बढाउने गरेकाले समस्या समाधानका लागि होस्टेल निर्माण गरिएको हो । होस्टेलमा रहेका कुकुरको हेरचाहका लागि एक जना कर्मचारी खटाइएको छ भने नगरपालिकाको पशु शाखाले नियमित प्राविधिक उपचारको व्यवस्था मिलाएको छ ।
सडकमा छाडिएका कुकुरबाट हुने जोखिम र रेबिजलगायत रोग नियन्त्रण गर्न होस्टेल सञ्चालन गरिएको नगरप्रमुख श्रेष्ठले बताए । नगर प्रहरीको सहयोगमा पशु विकास शाखाले सडकका कुकुरलाई खोप लगाउने, उद्धार गर्ने र होस्टेलमा पुर्याउने काम गरिरहेको छ । पहिलो चरणमा ५० वटा कुकुर व्यवस्थापन गर्ने नगरपालिकाको लक्ष्य छ ।
होस्टेलमा रहेका कुकुरलाई नियमित खानपान र स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ । बिहान दूधभात र बेलुका ‘चिकनभात’ खुवाउने गरिएको नगरपालिकाले जनाएको छ । कुकुरलाई आवश्यकताअनुसार पोषणयुक्त खाना खुवाउनुका साथै पशु शाखाबाट नियमित स्वास्थ्य परीक्षण तथा प्राविधिक उपचारसमेत भइरहेको छ ।

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह

भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु

बडिमालिका संरक्षण, प्रवर्द्धन तथा पर्यटन विकास र समृद्धिको साझा प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

रामेछापको विकास र समृद्धिलाई खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

















