Opens in a new tab

प्रधानाध्यापक मुक्ति प्रसाद कुशवाहाको पहलमा फेरिँदै उचिडिह माविको स्वरूप

नवलपुर टुडे

4.5KShares

सारांश

  • रौतहटको उचिडिह माध्यमिक विद्यालयमा प्रधानाध्यापक मुक्ति प्रसाद कुशवाहाको पहलमा करोडौँ लगानीमा सुविधासम्पन्न दुईतले भवनहरू निर्माण भई भौतिक पूर्वाधारमा ठूलो सुधार आएको छ।
  • विद्यालयमा खानेपानी, शौचालय, व्यवस्थित कक्षाकोठा, डेस्क–बेन्चका साथै विज्ञान र कम्प्युटर ल्याब सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ।
  • प्रधानाध्यापक कुशवाहाले विद्यालयको विकासका लागि व्यक्तिगत रूपमा आर्थिक सहयोग गर्नुका साथै आफ्नो निजी जग्गासमेत दान गरेका छन्।
dida bag ad

रौतहट। कुनै समय जीर्ण भवन र टिनको छानामुनि जोखिमपूर्ण अवस्थामा पठनपाठन गर्नुपर्ने बाध्यता रहेको रौतहटको देवाही गोनाही नगरपालिका–७ स्थित उचिडिह माध्यमिक विद्यालयको स्वरूप अहिले फेरिँदै गएको छ।

२०६६ सालदेखि विद्यालयको नेतृत्व सम्हाल्दै आएका प्रधानाध्यापक मुक्ति प्रसाद कुशवाहाको निरन्तर पहल र मेहनतमा विद्यालयमा तीनवटा सुविधासम्पन्न दुईतले भवन निर्माण भएका छन्। करोडौँ रुपैयाँको लगानीमा बनेका भवनमा व्यवस्थित कक्षाकोठा, डेस्क–बेन्च, पंखा तथा अन्य आवश्यक सुविधा उपलब्ध गराइएको छ।

विद्यालयमा खानेपानी र शौचालयको व्यवस्थापनमा सुधार हुनुका साथै शिक्षक अभावको समस्या पनि धेरै हदसम्म न्यूनीकरण भएको छ। प्रधानाध्यापक र सहप्रधानाध्यापकका लागि छुट्टाछुट्टै कार्यकक्ष तथा सभा समारोह सञ्चालन गर्न मञ्चको समेत व्यवस्था गरिएको छ।

विद्यालयलाई प्रविधिमैत्री र प्रयोगात्मक शिक्षामा जोड्ने उद्देश्यले विज्ञान प्रयोगशाला र कम्प्युटर ल्याब सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। आवश्यक सामग्री विद्यालयमा आइसकेको र केही दिनभित्रै सञ्चालन गर्ने योजना रहेको प्रधानाध्यापक कुशवाहाले बताएका छन्।

विद्यालयको विकासमा उनको योगदान भवन निर्माणमा मात्र सीमित छैन। विद्यार्थीलाई अध्ययनप्रति आकर्षित गर्न र विद्यालयबाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन उनले व्यक्तिगत खर्चबाट समेत विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

कटहरिया नगरपालिका–१ भोसडवाका स्थायी बासिन्दा कुशवाहाले विद्यालयको हितका लागि आफ्नो निजी जग्गासमेत दान गरेका छन्।

भौतिक पूर्वाधारमा आएको परिवर्तनसँगै अब विद्यार्थीको सिकाइ उपलब्धि, नियमित उपस्थिति, विषयगत शिक्षकको पर्याप्तता र गुणस्तरीय शिक्षामा समेत ध्यान दिनुपर्ने आवश्यकता छ।

हाल कक्षा ९ सम्म पठनपाठन हुँदै आएको उचिडिह माविको परिवर्तनले योजनाबद्ध प्रयास, सरकारी लगानी र नेतृत्वको सक्रियताबाट सामुदायिक विद्यालयको स्वरूप सुधार गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ।