पर्यटकीय याम सुरु भएसँगै सामुदायिक घरबासमा विदेशी पाहुना

रासस

सारांश
- बागलुङको भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक घरबासमा हिमशृङ्खलाको दृश्यावलोकन, अर्ग्यानिक खाना र न्यानो आतिथ्यका कारण स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ।
- बेलायत, अमेरिका, अस्ट्रेलियालगायतका देशबाट आएका पर्यटकहरू यहाँको स्थानीय मगर संस्कृति, ग्रामीण जीवनशैली र नौमती बाजासहितको स्वागतबाट प्रभावित हुने गरेका छन्।
- पन्ध्र घरमा सञ्चालित यस घरबासमा कोदोको ढिँडो, सेलरोटी, सिस्नो र गुन्द्रुकल apparent अर्ग्यानिक परिकार मुख्य आकर्षणका रूपमा रहेका छन्।

बागलुङ । आँखैअगाडि दन्तेलहरझैँ देखिने हिमशृङ्खला, अर्ग्यानिक खानाका परिकार, ग्रामीण जीवनशैली र न्यानो आतिथ्य भकुण्डेस्थित सामुदायिक घरबास (होमस्टे)को मुख्य आकर्षण हुन् । यिनै विशेषताका कारण बागलुङको भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक घरबासमा स्वदेशीमात्र नभई विदेशी पर्यटकसमेत आकर्षित हुन थालेका छन् ।
पर्यटकीययाम सुरु भएसँगै जिल्लाकै पहिलो घरबासगाउँ बागलुङ नगरपावलिका–१० स्थित भकुण्डेमा पर्यटकको चहलपहल बढेको छ । हालै छ जना विदेशी पर्यटक तीन दिनसम्म घरबासमा बसेर गाउँको प्राकृतिक सुन्दरता, स्थानीय संस्कृति र खानपानमा रमाउँदै फर्किएका छन् । बेलायत, स्वीटजरल्यान्ड, अस्ट्रेलिया, अमेरिकालगायत देशका पर्यटक घरबासमा आएका सञ्चालक याम थापाले बताए ।
“शुक्रबारदेखि आइतबारसम्म घरबासमा पर्यटकको चहलपहल बढी हुन्छ । पदयात्रामार्फत बागलुङ बजारबाट र जीपमा भकुण्डे पुग्न सकिन्छ”, उनले भने, “भकुण्डे यस्तो घरबास हो, जहाँ विदेशी पर्यटक सोझै आउने गरेका छन् । यसले ओझेलमा परेको गाउँलाई चलायमान बनाउनुका साथै बसाइँसराइ रोक्नसमेत सहयोग गरेको छ ।”
विसं २०७३ देखि जिल्लाकै पहिलो घरबासका रूपमा सञ्चालनमा आएको अतिथि सत्कार सामुदायिक घरबास स्थानीय कला, संस्कृति, मौलिक परम्परा, आतिथ्य र अर्ग्यानिक खानाका कारण परिचित बन्दै गएको छ । पछिल्ला छ वर्षदेखि विदेशी पर्यटकको आगमनले निरन्तरता पाएको सञ्चालकको भनाइ छ ।
बाजागाजासहित पाहुनाको स्वागत
विदेशी पर्यटकको आकर्षण बढ्न थालेपछि घरबासमा नौमती बाजागाजासहित पाहुनाको स्वागत गर्ने गरिएको सञ्चालक थापाले बताए । मौसमी फूल, सयपत्री र लालीगुराँसका माला लगाएर पाहुनालाई स्वागत गर्ने परम्परा छ । स्थानीय संस्कृति र ग्रामीण जीवनशैलीसँग नजिकबाट परिचित हुन पाइने भएकाले विदेशी पर्यटकको रोजाइमा सामुदायिक घरबास परेको उनको भनाइ छ ।
विदेशी पर्यटकलाई भकुण्डे चिनाउने शर्मा
बागलुङको पर्यटन प्रवर्द्धनमा लामो समयदेखि सक्रिय महादेव शर्मा विदेशी पर्यटकलाई भकुण्डे ल्याउन सक्रिय छन् । विभिन्न माध्यमबाट विदेशी पाहुना भित्र्याउँदै आउनुभएका शर्माले घरबासको अध्ययनसमेत गर्दै आएका छन् ।
भकुण्डेको गाउँ परिवेश, जीवनशैली, खानपान र स्थानीयको आतिथ्य विदेशी पर्यटकले रुचाउने गरेको उनले बताए । शर्माका अनुसार उनको पहलमा दर्जनभन्दा बढी समूहमा विदेशी पर्यटक भकुण्डे पुगेका छन् ।
घरबास सञ्चालिका इन्द्रा थापाले पाहुनाको मागअनुसार सेवा तथा सुविधा थप्दै लगिएको बताउनुभयो । पर्यटकलाई सहज बसाइका लागि तातो तथा चिसो पानी, शौचालयलगायत पूर्वाधारलाई व्यवस्थित बनाइएको उनको भनाइ छ ।
सिन्कीदेखि कोदोको सेलको स्वाद
घरबासको अर्को मुख्य आकर्षण स्थानीय अर्ग्यानिक खानाका परिकार हुन् । हिमशृङ्खलाको दृश्यावलोकन गर्दै स्थानीय उत्पादनबाट तयार पारिएका परिकारको स्वाद लिन पाइने भएकाले पर्यटक रमाउने गरेका छन् ।
यहाँ स्थानीय आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, कोदोको सेलरोटी, सिस्नो, गुन्द्रुक तथा खसी र कुखुराको मासुका परिकार खुवाउने गरिएको सञ्चालिका थापाले बताइन् । उनका अनुसार १५ घरमा सञ्चालन भइरहेको घरबासमा एक रातमा करिब १०० पर्यटक राख्न सक्ने क्षमता छ ।
मगर संस्कृति, स्थानीय खानाका परिकार, न्यानो आतिथ्य, पर्यटकीय उद्यान, भ्यूटावर, बराह ताल र प्राकृतिक सुन्दरताले भकुण्डे पर्यटकको आकर्षणको केन्द्र बनेको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले बताए । जिल्ला सदरमुकाम बागलुङ बजारबाट नजिकै रहेको भकुण्डे भौगोलिक रूपमा समेत रमणीय रहेको उनको भनाइ छ ।
यहाँबाट आँखैअगाडि देखिने हिमशृङ्खला, मगर संस्कृति र सुविधायुक्त बसाइँले पर्यटकलाई आकर्षित गर्दछ । घरबासमा पाहुनाको स्वागत तथा बिदाइ गर्ने शैली पनि फरक र आत्मीय रहेको यहाँ पुग्नुभएका स्वदेशी पर्यटक रमण छन्त्यालले बताए ।
घरबास सञ्चालिका थापाका अनुसार यहाँ अमेरिकासँगै दक्षिण कोरिया, चीन, जर्मनी, क्यानडालगायत देशबाट पर्यटक आउने गरेका छन् । कतिपय पर्यटक हेलिकप्टरमार्फत समेत भकुण्डे पुग्ने गरेका छन् । घरबासमा आउने विदेशी पर्यटक स्थानीय परिकारको स्वाद लिने, पर्यटकीयस्थल घुम्ने, कला संस्कृतिमा रमाउने तथा स्थानीयसँग नाचगान गरेर समय बिताउने गर्छन् ।
अधिकांश पर्यटक बागलुङ बजारबाट पदयात्रा गर्दै भकुण्डे पुग्ने गरेका छन् । भकुण्डे पुग्ने सडक स्तरोन्नति, खानेपानीको पर्याप्त व्यवस्था र पर्यटकीय पूर्वाधार विस्तारमा ध्यान दिनसके यस क्षेत्रको पर्यटन थप विस्तार हुने स्थानीयको अपेक्षा छ । घरबासको झ्यालबाटै धवलिगिरि, अन्नपूर्ण, माछापुच्छ्रेजस्ता हिमाल देख्न सकिन्छ ।

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

झापाको सानो माईखोलाको बगरमा बदाम खेती

कर्णालीको गौरव: धमाधम निर्माण हुँदै प्रशासनिक भवन
अरुपनि पढ्नुहोस
सबै
लुम्बिनी–गोवा पर्यटन सर्किट बनाउने प्रस्ताव, सीधा उडानमा जोड

तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

पोखरामा तिहारलक्षित गोदावरी तथा सयपत्री पुष्प मेला पोखरा रङ्गशालामा सुरु

बैतडीमा जिप दुर्घटनामा एक जनाको मृत्यु, छ जना घाइते
















