Opens in a new tab

दसैँले राष्ट्रिय एकता र सामाजिक सद्भाव मजबुत बनाउँछ: सभामुख अर्याल

नवलपुर टुडे

1.5KShares

सारांश

  • सभामुख डोलप्रसाद अर्यालले बडा दसैँजस्ता चाडपर्वले नेपालीहरूबीच पारस्परिक मेलमिलाप, भ्रातृत्व र सामाजिक एकतालाई मजबुत बनाउने बताएका छन्।
  • उनले जनताको सार्वभौमसत्ता अक्षुण्ण राख्दै सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न सङ्घीय संसद् सधैँ क्रियाशील र प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।
  • विजयदशमीले समस्त नेपालीमा नवीन ऊर्जा, सोच र राष्ट्र निर्माणको सङ्कल्प पैदा गरोस् भन्दै उनले देशविदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।
dida bag ad

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले दसैँ जस्ता चाडपर्वले नेपालीहरूबीच पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत र सशक्त बनाई विविधताबीचको सौहार्द एकतालाई मूर्त रूप प्रदान गर्ने बताएका छन् ।

नेपालीहरूको महान् चाड बडा दसैँका अवसरमा शुभकामना सन्देश दिँदै उनले राष्ट्रिय एकतालाई थप परिष्कृत र सुदृढ तुल्याउन माता दुर्गा भवानीले शुभाशीर्वाद प्रदान गरून् भन्ने कामना समेत गरेका छन् ।

सभामुख अर्यालले जारी गरेको शुभकामना सन्देशमार्फत दसैँको अवसरमा विश्वभरि रहेका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं निरन्तर प्रगतिका लागि हार्दिक र मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

“जनताको सार्वभौमसत्ता र राजकीय सत्तालाई अक्षुण्ण राख्दै जनभावना अनुरूप समयसापेक्ष जनमैत्री कानुन निर्माण तथा परिमार्जन गर्दै मुलुकमा सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न सङ्घीय संसद् सदैव क्रियाशील र प्रतिबद्ध छ”, शुभकामना सन्देशमा भनिएको छ ।

उनले विजयदशमीको यस सुखद् घडीमा नेपालको संविधानलाई शिरोपर गर्दै राष्ट्रिय एकतालाई थप परिष्कृत र सुदृढ तुल्याउन माता दुर्गा भवानीले शुभाशीर्वाद प्रदान गरून् भन्ने कामना पनि गरेका छन् ।

उनले विजयदशमीले समस्त नेपाली जनहरूमा नवीन ऊर्जा, सोच, नवप्रवर्तन र राष्ट्र निर्माणको सङ्कल्प पैदा गरोस् भन्ने दृढ विश्वास पनि व्यक्त गरेका छन् ।

सभामुख अर्यालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो देशमा दसैँलाई दूराचारमाथि सदाचारको जित र असत्यमाथि सत्यको विजय प्रतीकका रूपमा मनाइने उल्लेख गरेका छन् ।

यो पर्वले सबैलाई समन्याय, सदाचार र लोकतान्त्रिक मूल्यमान्यताको सुमार्गमा हिँड्ने प्रेरणा प्रदान गर्नेमा उनले विश्वास व्यक्त गरेका छन् ।

ऐतिहासिक पहिचान बोकेको बडा दसैँ प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेसँगै शुभारम्भ गरी सप्तमी, अष्टमी र नवमीसम्म नवदुर्गा भवानीको पूजा आराधना पश्चात दशमीको दिनमा भवानीको प्रसाद स्वरूप मान्यजनहरूको हातबाट पवित्र टीका, जमरा र आशीर्वाद ग्रहण गरी पूर्णिमासम्म हर्षोल्लासका साथ मनाउने गरिन्छ ।