धमाधम फेला पर्दै अवैध हतियार

रासस

सारांश
- बर्दियाको ठाकुरबाबा नगरपालिकास्थित सामुदायिक वनबाट मङ्गलबार एक थान बेवारिसे कटुवा पेस्तोल बरामद गरिएको छ।
- चालु आर्थिक वर्षको साउनदेखि हालसम्म जिल्लाका विभिन्न स्थानबाट चार वटा अवैध तथा बेवारिसे हतियार फेला परेका छन्।
- चाडपर्वको समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरीले अवैध हतियार नियन्त्रण अभियानलाई तीव्रता दिएको छ।

बर्दिया । चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्ने क्रम बढेको छ । पछिल्लो पटक ठाकुरबाबा नगरपालिका–३ गोदानास्थित कोपिला सामुदायिक वनमा मङ्गलबार कटुवा पेस्तोल फेला परेको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म जिल्लाका विभिन्न स्थानबाट चार वटा बेवारिसे हतियार फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर देउवाका अनुसार स्थानीयको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बगनाहाको टोलीले कोपिला सामुदायिक वनको जङ्गलबाट खिया लागेको कालो रङको कटुवा पेस्तोल बरामद गरेको हो । उक्त पेस्तोल कानुनी प्रक्रिया पूरा गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बगनाहामा सुरक्षित राखिएको उनले बताए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेलले गत वैशाखदेखि अवैध हतियार नियन्त्रणका लागि ‘स्विप अपरेसन’ सञ्चालन गरिएकाले बेवारिसे अवस्थामा हतियार फेला पर्ने क्रम बढेको बताए । उनका अनुसार अवैध हतियार नियन्त्रण अभियानले चाडपर्वका बेला हुन सक्ने सुरक्षा चुनौती न्यूनीकरण गर्न सहयोग पुग्नेछ ।
यसअघि गत साउन २२ गते बढैयाताल गाउँपालिका–७ कर्णालीपुरस्थित सडकछेउको झाडीबाट कटुवा पेस्तोल फेला परेको थियो ।
यस्तै, गत भदौ २४ गते बढैयाताल गाउँपालिका–२ स्थित सिर्जनशील सामुदायिक वनमा बन्दुकमा प्रयोग हुने एक थान नालसहित भरुवा बन्दुक फेला परेको थियो । गत भदौ २५ गते गेरुवा गाउँपालिका–२ बालुवातार जाने सडकछेउको झाडीबाट पनि कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भारतसँग सीमा जोडिएको बर्दियामा सामुदायिक वन क्षेत्रमा चोरीसिकारी हुने गरेको छ । त्यसलाई मध्यनजर गर्दै प्रहरीले सामुदायिक वन क्षेत्रमा निगरानी बढाउँदै आएको प्रहरी उपरीक्षक पौडेलले बताए । प्रहरीको निगरानी बढेपछि अवैध हतियार राख्नेलाई समस्या परेको हुन सक्ने र हतियार लुकाउने क्रममा बेवारिसे अवस्थामा फेला परेको हुन सक्ने उनको भनाइ छ ।
जिल्लामा अझै अवैध हतियार हुन सक्ने अनुमान गर्दै प्रहरीले नियन्त्रण अभियानलाई तीव्रता दिएको जनाएको छ । चाडपर्वको समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौती कम गर्न अवैध हतियार नियन्त्रण अभियानलाई निरन्तरता दिइएको प्रहरी उपरीक्षक पौडेलले बताए ।

विशेष सुरक्षा सल्लाहकार कार्कीले बुझे पत्र

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित
अरुपनि पढ्नुहोस
सबै
आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की
















