बडादसैँ नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको चाप उच्च

नवलपुर टुडे

सारांश
- बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुहरूको चाप अत्यधिक रूपमा बढेको छ।
- विगत २४ घण्टामा मात्रै विभिन्न नाका भएर ५६ हजारभन्दा बढी मानिसले उपत्यका छाडेका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
- विभिन्न राजमार्ग बिग्रिएका कारण यातायात व्यवस्थापनमा समस्या उत्पन्न भएको व्यवसायीहरूले बताएका छन्।
काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ।
दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ। दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम बढेको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले दसैँ मनाउनका लागि काठमाडौँका विभिन्न नाका हुँदै सोमबार बिहानदेखि आज बिहानसम्मको २४ घण्टामा ५६ हजार ८०९ यात्रु बाहिरिएको जानकारी दिए।
उनका अनुसार फर्पिङ नाकाबाट पाँच हजार ५१०, नागढुङ्गा नाकाबाट २७ हजार ६४९, थानकोट नाकाबाट ५६, भीमढुङ्गा नाकाबाट ५१३, तीनपिप्ले नाकाबाट ९७२, साँखु नाकाबाट ६०८, भक्तपुर नाकाबाट २० हजार ६१५ र भट्टेडाँडा नाकाबाट ८८६ यात्रु बाहिरीएका छन्।
दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बाटोको कारण यातायात व्यवस्थापनमा समस्या भएको बताए। ‘दसैँको पूर्वसन्ध्यामा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिँदा सवारीसाधन समयमा गन्तव्यमा पुन्न तथा काठमाडौँ आउन समस्या हुँदा सवारीसाधन व्यवस्थापनमा समस्या परेको छ,’ उनले भने। असोज २३ गते अग्रीम बस टिकट बुकिङ खुला गरेको दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भाँसिदा सवारीसाधन आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमा रोकिँदा समस्या भएको महासचिव गौतमले बताए।
महासंघले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ। दसैँले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिसहरू चाडपर्व मनाउन घर फर्किने क्रम हरेक वर्ष बढ्ने गरेको छ।

दसैँको टीकाको तेस्रो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

नेपाललाई तीन अर्ब अनुदान दिने हानिनोक्सानी कोषको निर्णय

रास्वपा सभापति लामिछाने ३ दिने भ्रमणका लागि आज भारत जाँदै

प्राकृतिक स्रोतको उपयोगबाट करोडौँ आम्दानी

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह
अरुपनि पढ्नुहोस
सबै
रुपन्देहीमा १० हजार भूमिहीन र ७१ हजार बढी अव्यवस्थित बसोबासी

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर
















