Opens in a new tab

मुगु जिल्लामा पहिलोपटक पेट्रोल पम्प सञ्चालनमा

नवलपुर टुडे

3.6KShares

सारांश

  • मुगुको छायाँनाथ रारा नगरपालिका–३, तुम गेरूनीमा स्थानीय व्यवसायीको करिब ४ करोड लगानीमा जिल्लाकै पहिलो व्यवस्थित पेट्रोल पम्प सञ्चालनमा आएको छ।
  • नयाँ सञ्चालनमा आएको यस पम्पमा पेट्रोल र डिजेल दुवै प्रतिलिटर २२० रुपैयाँमा बिक्री भइरहेको छ।
  • यस पेट्रोल पम्पको सञ्चालनसँगै स्थानीयवासी, यातायात व्यवसायी तथा रारा आउने पर्यटकलाई इन्धन सहज उपलब्ध भई यातायात र पर्यटन क्षेत्रमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–३, तुम गेरूनीमा जिल्लाकै पहिलो व्यवस्थित पेट्रोल पम्प सञ्चालनमा आएको छ। स्थानीय पर्यटन व्यवसायी नेता प्रसाद चौलागाईंको करिब ४ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको अनुसा फ्युल सप्लायर्स एन्ड डिस्टिब्युटर्स प्रालि आइतबारदेखि सञ्चालनमा आएको हो।

विसं २०८० कात्तिक १९ गते निर्माण सुरु गरिएको पेट्रोल पम्प करिब तीन वर्षपछि सञ्चालनमा आएको हो। पम्पमा पेट्रोल र डिजेल दुवै प्रतिलिटर २२० रुपैयाँमा बिक्री भइरहेको छ।

9914 scaled 1

यसअघि मुगुमा व्यापारीहरूले फाटफुट रूपमा पेट्रोलियम पदार्थ बिक्री गर्दै आए पनि पर्याप्त इन्धन उपलब्ध नहुँदा स्थानीयवासी, यातायात व्यवसायी र पर्यटकले समस्या भोग्दै आएका थिए। विशेषगरी मोटरसाइकल, जिप, ट्रक तथा स्काभेटर सञ्चालनमा इन्धनको अभावले कठिनाइ हुने गरेको थियो।

पेट्रोल पम्पका सञ्चालक नेता प्रसाद चौलागाईंले जिल्लामा लामो समयदेखि देखिँदै आएको इन्धनको समस्या समाधान गर्न र स्थानीयवासी, यातायात व्यवसायी तथा रारा घुम्न आउने पर्यटकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले लगानी गरेको बताए । उनले पेट्रोल पम्प सञ्चालनमा आएपछि जिल्लाको यातायात तथा पर्यटन क्षेत्रलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको जानकारी दिए ।

पेट्रोल पम्प सञ्चालनमा आएसँगै स्थानीयवासी तथा यातायात व्यवसायीलाई इन्धन भर्न सहज हुने र रारा घुम्न आउने पर्यटकले समेत राहत पाउने अपेक्षा गरिएको छ। दुर्गम हिमाली जिल्ला मुगुमा निजी क्षेत्रको लगानीमा पेट्रोल पम्प सञ्चालनमा आउनुलाई पर्यटन, यातायात र स्थानीय आर्थिक गतिविधिका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।