आज दुई संसदीय समितिको बैठक बस्दै


काठमाडौँ । आज दुई संसदीय समितिको बैठक बस्दैछ। कृषि तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठकमा विभिन्न समसामयिक विषय तथा विधेयकमाथि छलफल हुने कार्यसूची छ।
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ८ बजे बस्दैछ। बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई समितिले समय-समयमा दिएका निर्देशन तथा सुझावको कार्यान्वयन अवस्थाबारे छलफल हुनेछ। यस्तै, कृषि, वन तथा पर्यावरणसँग सम्बन्धित अन्य समसामयिक विषय र विविध विषयमा पनि छलफल गर्ने कार्यसूची छ। बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री तथा मन्त्रालयका सचिवलाई समेत आमन्त्रण गरिएको छ।
यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः१५ बजे बस्नेछ। उक्त बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ को मस्यौदा प्रतिवेदनमाथि छलफल गरिनेछ। बैठकमा विधेयकमाथिको छलफलसँगै अन्य विषयमा समेत छलफल हुने कार्यसूची रहेको छ।
दुवै समितिका बैठकमा सम्बन्धित विषयमा आवश्यक छलफल गरी समितिको कामकारबाही अघि बढाइने बताइएको छ।






















