Opens in a new tab

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

नवलपुर टुडे

975Shares

सारांश

  • संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी तापक्रम वृद्धिलाई नियन्त्रण गर्न तत्काल र व्यापक रूपमा हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा जोड दिएका छन्।
  • उनले आगामी केही वर्षसम्म प्रतिवर्ष करिब ६ प्रतिशतका दरले उत्सर्जन कटौती गर्नुपर्ने आवश्यकता औँल्याउँदै तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा तल झार्नुपर्ने बताएका छन्।
  • विकासशील तथा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुकलाई वित्तीय सहयोग उपलब्ध गराउन र विकसित देशहरूले आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्नेमा उनले जोड दिएका छन्।
dida bag ad

टर्किए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले  हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका छन् ।

विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा माथि जानबाट रोक्न नसकिने अवस्था देखिए पनि त्यसको अवधि र प्रभाव न्यून बनाउन तत्काल र व्यापक रूपमा हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका हुन् ।

यही कात्तिक २३ गतेदेखि यहाँ जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१)को अन्तिम पत्रकार सम्मेलनमा उनले  आगामी केही वर्षसम्म प्रतिवर्ष करिब ६ प्रतिशतका दरले उत्सर्जन कटौती गर्नुपर्ने आवश्यकता औँल्याए ।

राष्ट्रिय निर्धारित योगदान (एनडीसी) अन्तर्गतका देशले प्रस्तुत गरेका वर्तमान जलवायु प्रतिबद्धता कार्यान्वयन हुँदा पनि यस शताब्दीको अन्त्यसम्म विश्वको तापक्रम वृद्धि २.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने जोखिम रहेको उनले बताए ।

“हाम्रो जिम्मेवारी तापक्रम वृद्धिलाई १.५ डिग्रीभन्दा माथि जाने अवस्थालाई सकेसम्म न्यून राख्नु, छोटो अवधिसम्म सीमित गर्नु र तापक्रमलाई सकेसम्म छिटो पुनः १.५ डिग्रीभन्दा तल झार्नु हो”, महासचिव गुटेरेसले भने ।

उनले तापक्रम वृद्धिको सीमित र अस्थायी अवस्थाले अहिले देखिएका जलवायुजन्य विनाशकारी प्रभावलाई थप तीव्र बनाउने भएकाले जलवायु न्यायको आवश्यकता अझ बढेको बताए ।

विकासशील तथा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुकलाई अनुकूलन र नोक्सानी सम्बोधनका लागि थप वित्तीय सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले विकसित देशले विगतका कोप सम्मेलनमा गरेका वित्तीय प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिए ।