मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
अल्लो प्रशोधन तथा उत्पादन उद्योग सञ्चालन गर्न मन्त्रालयमा वडा अध्यक्ष बुढाको माग


बाजुरा, असोज ७ । बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नं. २ मा अल्लो प्रशोधन तथा उत्पादन उद्योग सञ्चालन गर्न उद्योग तथा वन मन्त्रालय वडा अध्यक्ष रण बहादुर बुढाले माग गरेका छन ।
सुदुरपश्चिम प्रदेश उद्योग तथा वन मन्त्रालयमा सम्भावना रहेको अल्लो प्रशोधन तथा उत्पादन उद्योग संचालन गर्नका लागि माननीय राज्यमन्त्री इन्दिरा गिरीलाई वडा कार्यालयको सिफारिस सहित बुझाएका छन ।
हिमाली गाउँपालिका वडा नं २ मा अल्लो प्रशोधन तथा उत्पादन उद्योग सञ्चालन सम्भावना रहेकाले मन्त्रालयबाट उक्त उद्योग सञ्चालनमा आवश्यक बजेटको व्यवस्था गरिदिनहुन सिफारिस साथ अनुरोध गरेको वडा अध्यक्ष रण बहादुर बुढाले बताउनुभयो ।
स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग गर्दै ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यका साथ वडा अध्यक्ष रणबहादुर बुढाले अल्लो प्रशोधन तथा उत्पादन उद्योग सञ्चालनका लागि उद्योग तथा वन मन्त्रालयसमक्ष माग गर्नुभएको छ।
अल्लो (सिस्नो प्रजातिको प्राकृतिक रेसा) को प्रचुर सम्भावना रहेको यस क्षेत्रमा कच्चा पदार्थ खेर गइरहेको अवस्थालाई ध्यानमा राख्दै वडाध्यक्ष बुढाले औपचारिक रूपमा उद्योग स्थापनाको प्रक्रिया अगाडि बढाउन मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको हो।
उद्योग सञ्चालनमा आएसँगै विशेष गरी स्थानीय महिला, युवा र विपन्न समुदायले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीको अवसर पाउनेछन्। कच्चा पदार्थको सदुपयोग गाउँघरमै पाइने प्राकृतिक अल्लोको व्यावसायिक संकलन र प्रशोधन गरी बहुमूल्य कपडा, झोला तथा अन्य हस्तकलाका सामग्री उत्पादन गर्न सकिनेछ। गाउँमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्न र प्राकृतिक सम्पदालाई आम्दानीको स्रोत बनाउन यो उद्योग कोशेढुङ्गा साबित हुनेछ ।






















