‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक’ सर्वसम्मतिले पारित


काठमाडौँ । राष्ट्रियसभाबाट ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
यसअघि आजै उक्त विधेयक सभामा छलफलका लागि पेस गरिएको थियो । विधेयक छलफलका लागि पेस भई स्वीकृत गरेर पारित गरिएको हो । प्रस्ताव पेस गर्दै मन्त्री चौधरीले रोगको वर्तमान अवस्था, सङ्क्रामक रोग नियन्त्रणका लागि हालको कानुनी व्यवस्था पर्याप्त नभएको, विधेयकको उद्देश्य तथा विधेयकमा समावेश भएका मुख्य मुख्य विषयका सम्वन्धमा जानकारी गराएकी थिइन् ।
विधेयकमाथिको छलफलमा राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दङ्गाल, सुरेश आलेमगर, खम्मबहादुर खाती, रामकुमारी झाँक्री, विष्णुबहादुर विश्वकर्मा, सम्झना देवकोटाले भाग लिएका थिए । सभाको अर्को बैठक असोज ८ गते बिहीबार दिउँसो १ः१५ बजे बस्ने अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी गराए ।






















