Opens in a new tab

समाज

सरसफाइ दिवसमा भरतपुरको चौबिसकोठीमा सरसफाइ

नवलपुर टुडे
२०८३ अशोज ५ | मध्यान्ह ०५:०६ बजे
भरतपुर । विश्व सरसफाइ दिवसको अवसरमा भरतपुरको चौबिसकोठीमा सरसफाइ गरिएको छ । ग्रीनल्याण्ड पब्लिक स्कुलले आइतबार विभिन्न संघ संस्थासँगको सहकार्यमा चौबिसकोठी क्षेत्रमा सरसफाइ गरेको हो ।

कार्यक्रममा स्कुलकी प्राचार्य इन्दिरा कार्की, चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेल, बेटर चितवन, यात्रा ग्रुप, लियो क्लब अफ भरतपुर, स्कुलका शिक्षक तथा विद्यार्थीहरु गरी दुई सय भन्दा बढी सहभागी थिए । सहभागीहरुले ३० बोरा भन्दा बढी फोहोर संकलन गरी व्यवस्थापना गरेका छन् ।

सो क्रममा चितवनका प्रहरी प्रमुख पौडेलले वातावरण संरक्षण सबैको साझा दायित्व भएको बताए । उनले विद्यार्थीहरुलाई सानै उमेरदेखि वातावरण र व्यक्तिगत सरसफाइको महत्त्व सिकाउन आवश्यक रहेको पनि बताए ।

प्राचार्य कार्कीले स्कुलले विद्यार्थीहरुलाई वातावरण, यसको महत्त्व र संरक्षणसँग जोड्ने गरेको बताईन् । उनले स्कुलले वातावरण संरक्षणका यस्ता कार्यक्रमलाई सधैं महत्त्व दिने गरेको पनि बताईन् ।

कार्यक्रममा लेट्स डु इटका कन्ट्री लिडर मिलन न्यौपानेले विश्वव्यापी सरसफाइ अभियानको औचित्य तथा अवधारणामाथि प्रकाश परेका थिए । त्यस्तै अभियन्ता अर्जुन भुसालले स्वच्छ वातावरण निर्माणमा हरेक नागरिकको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै सबैलाई अभियानमा जुट्न आग्रह गरे ।

कमेन्टहरु