बिश्व

हुथीको बढ्दो आक्रमण, दबाबमा साउदी अरब

एजेन्सी
२०८३ अशोज ४ | मध्यान्ह ०३:०६ बजे

रियाद । यमनमा इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबविरुद्ध आफ्नो सैन्य अभियान तीव्र बनाएपछि मध्यपूर्वको युद्ध थप जटिल बन्दै गएको छ ।

लाल सागर र स्ट्रेट अफ बाब अल–मन्देब आसपास हुथीको प्रभाव विस्तार हुँदै जाँदा विश्वव्यापी ऊर्जा सङ्कट गहिरिने र अमेरिका–इरान युद्धको अर्को मोर्चा खुल्ने चिन्ता बढेको छ ।

अमेरिका र उसका प्रमुख क्षेत्रीय साझेदार साउदी अरबले हुथीको पछिल्लो विस्तार रोक्ने स्पष्ट रणनीति बनाउन नसकेको भन्दै क्षेत्रीय तथा अमेरिकी अधिकारीहरूमा निराशा बढेको सीएनएनले जनाएको छ ।

अमेरिकाले साउदी अरबलाई गुप्तचर सूचना र सैन्य लक्ष्य पहिचानसम्बन्धी सहयोग बढाए पनि हुथीविरुद्ध प्रत्यक्ष अमेरिकी सैन्य कारबाही गर्ने इच्छा तत्काल देखाएको छैन । अमेरिकी प्रशासनले अहिलेको सीमारेखा ‘आक्रामक हवाई वा अन्य प्रत्यक्ष सैन्य हमला नगर्ने’ रहेको स्पष्ट पारेको छ ।

बाब अल–मन्देबतर्फ हुथीको नजर

हुथीले रणनीतिक रूपमा महत्त्वपूर्ण क्षेत्र र तटीय सहरमा आफ्नो प्रभाव विस्तार गरिरहेका छन् । उनीहरूको दीर्घकालीन लक्ष्य महत्त्वपूर्ण समुद्री मार्ग बाब अल–मन्देबमाथि नियन्त्रण स्थापित गर्नु रहेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

बाब अल–मन्देब लाल सागरलाई अदनको खाडी हुँदै हिन्द महासागरसँग जोड्ने महत्त्वपूर्ण समुद्री मार्ग हो । यस क्षेत्रमा अस्थिरता बढ्दा एसिया, युरोप र मध्यपूर्वबिचको व्यापार तथा तेल आपूर्तिमा असर पर्न सक्छ ।

अमेरिकी अधिकारीहरूका अनुसार हुथीको पछिल्लो गतिविधि अप्रत्याशित थिएन । केही समयदेखि अमेरिकी गुप्तचर निकायले हुथीले इरानले यसअघि महत्त्वपूर्ण जलमार्गमा दबाब सिर्जना गरेजस्तै अर्को समुद्री मार्गलाई पनि प्रभावित पार्ने प्रयास गर्न सक्ने चेतावनी दिँदै आएका थिए ।

रियादसम्म पुग्यो आक्रमण

हुथी र साउदी नेतृत्वको गठबन्धनबीच पछिल्ला साताहरूमा तनाव तीव्र भएको छ ।

साउदी अरबले हुथीमाथि इस्लामको ‘पवित्र’ सहर मक्कालाई समेत लक्षित गरेको आरोप लगाएको छ । हुथीले भने साउदी एफ–१५ लडाकु विमान खसालेको दाबी गरेका छन् ।

शनिबार साउदी राजधानी रियादमा पनि हवाई आक्रमणसम्बन्धी चेतावनी बज्यो । जुलाईमा हुथी–साउदी तनाव बढेपछि पहिलोपटक राजधानी प्रत्यक्ष जोखिममा परेको यो घटना भएको जनाइएको छ ।

हुथीले रियादका ‘महत्त्वपूर्ण’ स्थान र यान्बुस्थित साउदी अराम्कोको सुविधामाथि मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ । यान्बुमा साउदीको महत्त्वपूर्ण तेल पाइपलाइनको अन्तिम बिन्दु रहेको छ ।

रियादको मुख्य विमानस्थलनजिकै ठूलो कालो धुवाँ देखिएको भिडियो सार्वजनिक भएको थियो । तर धुवाँको कारण तत्काल स्पष्ट भएको थिएन ।

पछि साउदी नेतृत्वको गठबन्धनले यमनबाट रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल आफ्नो हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको जनाएको छ । आक्रमणबाट मानवीय क्षति भएको विवरण आएको छैन ।

साउदीलाई अमेरिकाको थप सहयोग चाहिएको छ

हुथीको विस्तार रोक्न साउदी अरबले अमेरिकासँग प्रत्यक्ष सैन्य कारबाहीको माग गरिरहेको छ ।

साउदी युवराज मोहम्मद बिन सलमानले गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दुईपटक कुराकानी गर्दै हुथीविरुद्ध अमेरिकी हमला गर्न आग्रह गरेको स्रोतहरूले बताएका छन् ।

तर ट्रम्प प्रशासनले अहिलेसम्म उक्त आग्रह स्वीकार गरेको छैन । ट्रम्पले हुथीसँग अमेरिका प्रत्यक्ष युद्धमा जान नचाहेको संकेत गर्दै उनीहरू पनि अमेरिकासँग लड्न नचाहेको बताएका छन् ।

उनका अनुसार हुथीले अधिकांश जहाजलाई अघि बढ्न दिइरहेका छन् र उनीहरूको मुख्य समस्या साउदी अरबसँग रहेको छ ।

पूर्व अमेरिकी कूटनीतिज्ञ बारबरा लिफले ट्रम्पको यस्तो प्रतिक्रियालाई असामान्य भन्दै अमेरिकाको निकट साझेदार साउदी अरबप्रति यसले गलत सन्देश दिन सक्ने बताएकी छन् ।

साउदी अरबले भने आफ्नै पूर्वाधार सुरक्षामा समेत बढ्दो चुनौती सामना गरिरहेको छ ।

क्षेत्रीय अधिकारीहरूका अनुसार साउदी सेनासँग मिसाइल रोक्ने क्षेप्यास्त्रको भण्डार घट्दै गएको छ । त्यसैले रियादले फ्रान्स, बेलायत, पाकिस्तान र इजिप्टसँग समेत हवाई प्रतिरक्षा सहयोग मागेको छ ।

हुथीलाई इरानको सहयोग

यमनको गृहयुद्धमा हुथी र साउदीसमर्थित सरकारी सेनाबीच एक दशकभन्दा लामो समयदेखि संघर्ष हुँदै आएको छ ।

हुथीलाई इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)ले तालिम र सहयोग दिँदै आएको आरोप लाग्दै आएको छ ।

सन् २०२२ मा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविरामपछि केही समय द्वन्द्वको स्तर घटेको थियो । तर पछिल्लो समय फेरि संघर्ष तीव्र बनेको छ । पूर्व अमेरिकी राजदूत जोइ हुडका अनुसार हुथीको अहिलेको अभियान र इरानबिच स्पष्ट सम्बन्ध छ । उनका अनुसार हुथी इरानबाट पूर्ण रूपमा निर्देशित हुने समूह होइनन्, तर उनीहरूलाई इन्धन तथा अन्य सहयोग आवश्यक पर्ने भएकाले इरानसँगको सम्बन्ध महत्त्वपूर्ण छ ।

पूर्व अमेरिकी कूटनीतिज्ञ लिफले पनि आईआरजीसीसँगको लामो सम्बन्धले हुथीलाई विगतको सीमित क्षमताको विद्रोही समूहबाट प्रभावकारी सैन्य शक्तिमा रूपान्तरण गर्न सहयोग गरेको बताएकी छन् ।

होर्मुज वार्तामा पनि असर

यमनमा हुथीको बढ्दो गतिविधिले स्ट्रेट अफ होर्मुजसँग सम्बन्धित कूटनीतिक प्रयासमा समेत असर पारेको छ । अमेरिका–इरान युद्ध सुरु भएपछि पहिलोपटक खाडी सहयोग परिषद् (जीसीसी) देशहरू र इरानबिच हुने भनिएको बैठक यसै साता रद्द भएको थियो । साउदी अरबले ओमान र इरानबिच होर्मुज खुला राख्ने विषयमा बन्न सक्ने सम्भावित सम्झौताको भाषाबारे असन्तुष्टि जनाउँदै बैठकमा सहभागी नभएको बताइएको छ ।

त्यसो त रियादले बाब अल–मन्देब क्षेत्रमा हुथी आक्रमण भइरहेका बेला इरानसँग छुट्टै सहमति गर्नु उचित नहुने ठानेको छ । यसले मध्यपूर्वका दुई महत्त्वपूर्ण समुद्री मार्ग—बाब अल–मन्देब र स्ट्रेट अफ होर्मुज—लाई एउटै भूराजनीतिक संकटसँग जोडिदिएको छ ।

‘एक्लै लड्न कोही चाहँदैन’

साउदी अरबले करिब एक दशकदेखि यमनको सरकारी सेनालाई तालिम र सैन्य सहयोग दिँदै आएको छ । तर हुथीको पछिल्लो प्रगति रोक्न ती सेना प्रभावकारी रूपमा सफल भएका छैनन् ।

अमेरिकी गुप्तचर तथा लक्ष्य पहिचान सहयोगमा साउदी हवाई हमलाले हुथीको केही क्षेत्रमा नियन्त्रण बलियो हुन नदिए पनि उनीहरूको क्षेत्रीय विस्तार रोक्न सकेको छैन ।

गत वर्ष अमेरिकाले हुथीविरुद्ध लामो समय सैन्य अभियान सञ्चालन गरेको थियो । तर महिनौँसम्मको हवाई हमलापछि पनि हुथीलाई निर्णायक रूपमा कमजोर पार्न नसकेपछि अमेरिका र हुथीबीच युद्धविराम भएको थियो ।

अहिले अमेरिकाले ओमानमा हुथीसँग भएको सम्पर्कमार्फत युद्धविराम कायम राख्ने सन्देश दिएको अमेरिकी अधिकारीले बताएका छन् ।

हुथीका एक वरिष्ठ अधिकारीले पनि अमेरिकाले साउदीसँग मिलेर प्रत्यक्ष युद्धमा सहभागी नहुने सन्देश आफूहरूले पाएको र त्यसलाई सकारात्मक रूपमा लिएको बताएका छन् ।

तर क्षेत्रीय अधिकारीहरूका अनुसार हुथीलाई सैन्य रूपमा पूर्ण रूपमा पराजित गर्न कठिन छ । सैन्य कारबाहीले हुथीलाई कमजोर बनाउन सक्ला, तर उनीहरूको अस्तित्व अन्त्य गर्न मात्र त्यो पर्याप्त नहुन सक्छ ।

यही कारण अहिले मध्यपूर्वमा एउटा ठूलो प्रश्न उठेको छ—हुथीको विस्तार रोक्ने जिम्मेवारी कसले लिने ? अमेरिकाले प्रत्यक्ष हस्तक्षेप नगर्ने नीति कायम राखेमा साउदी अरबले एक्लै हुथीलाई रोक्न सक्ने हो कि होइन भन्नेमा अमेरिकी तथा खाडी अधिकारीहरू नै आश्वस्त देखिँदैनन् ।

कमेन्टहरु