आरोहण टोली धवलागिरि आधार शिविरमा


म्याग्दी । चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहण टोली आधार शिविर पुग्न थालेका छन् । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ ।
‘एठ के’, ‘सेभेन समिट’ र ‘फोरटिन पिक्स’ ट्रेकिङ कम्पनीमार्फत आरोहणका लागि आएका पर्वतारोहीहरूको टोली आधार शिविर पुगेका हुन् । आरोहण टोलीको समन्वय गरेका म्याग्दीका पर्यटनकर्मी इन्द्रसिङ शेरचनले शनिबारसम्म ३० जना विदेशी पर्वतारोही टोली आधार शिविर पुगेका जानकारी दिए ।
विपद् नहोस्, दुर्घटनाको सामना गर्नु नपरी आरोहण अभियान साफताको कामना गर्दै आधार शिविरमा शेर्पाहरूले धार्मिक विधिअनुसार पूजाआजा गर्ने चलन छ । आधार शिविर पुगेर फर्किएका शेरचनका अनुसार बन्दोबस्तीका सामान ढुवानीका लागि खच्चड र हेलिकप्टरको प्रयोग गरेका छन् ।
थप टोली पनि आधार शिविर जाने तयारीमा रहेको शेरचनले बताए । आधार शिविरमा केही दिन अनुकूल मौसमको प्रतीक्षा र तयारी गरेपछि पर्वतारोहीहरूको टोली ‘रोप फिक्सिङ’ र शिविर सार्दै चुचुरोतर्फ लाग्नेछन् । शेर्पाहरूको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनीहरूको सहयोगमा आरोहीहरू चुचुरोमा पुग्ने गर्छन् । आरोहण टोलीहरू पुग्न थालेपछि आधार शिविरमा चहलपहल सुरु भएको छ ।
चालु वसन्तयाममा धवलागिरि आरोहणका लागि पर्यटन विभागबाट शुक्रबारसम्म चार वटा समूहका १० महिलासहित ३४ जनाले अनुमति लिएका छन् । उनीहरूबाट रु ७७ लाख ८२ हजार ४५० सलामी दस्तुर (आरोहण) शुल्क प्राप्त भएको विभागका शाखा अधिकृत सुधा रेग्मीद्वारा जारी सूचनामा उल्लेख छ ।
गत वसन्तयाममा तीन वटा समूहका १२ महिला र १६ पुरुष तथा २०८२ सालको शरदयाममा ३६ जनाले धवलागिरि आरोहणका लागि अनुमति लिएका विभागको अभिलेखमा छ । छिनछिनमा परिवर्तन हुने मौसम धवलागिरि आरोहणको चुनौती हो । अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ ।
सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धवलागिरि हिमालको सफल आरोहण गर्नुभएको थियो । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेको थियो ।






















