त्रिशूली-१ को सुरुङबाट निकालिएका शव सनाखतका लागि प्रहरीको अनुरोध


काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा गत भदौ १० गते आएको बाढीका कारण नदी तटीय क्षेत्रमा ठुलो भौतिक तथा मानवीय क्षति भएको थियो। सोही बाढीका कारण रसुवा जिल्लाको आमाछोदिङ्बो गाउँपालिका वडा नं. १ (हाकु) मा रहेको २१६ मेगावाट क्षमताको त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङबाट असोज १ र २ गते गरी जम्मा २४ वटा शव निकालिएको थियो।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार ती शवहरू असोज ३ गते दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत लिफ्ट गरी नुवाकोट ल्याइएको छ। निकालिएका सबै २४ वटा शवहरू नुवाकोटको विदुर नगरपालिका वडा नं. ६ स्थित केन्द्रीय कारागार कार्यालय, खम्बाक्याम्प परिसरमा ल्याएर राखिएको छ।
मृतकका परिवार तथा आफन्तजनलाई शवको सनाखत गर्ने र गराउने कार्यमा सहयोग गरिदिन जिल्ला प्रहरी कार्यालय नुवाकोटले अनुरोध गरेको छ। प्रहरीले आवश्यक सहयोग तथा समन्वयका लागि प्रहरी निरीक्षक आशिष साह (मोबाइल नम्बर: ९८५५०९१७५७) लाई सम्पर्क गर्नसमेत आग्रह गरेको छ।























