प्रबास

युक्रेनलाई सैन्य सहयोग गर्ने युरोपेली प्रतिनिधिमाथि रुसी प्रतिबन्ध

एजेन्सी
२०८३ अशोज ३ | मध्यान्ह ०२:०६ बजे

मस्काे । युरोपेली संघले जुलाई २३ मा रुसविरुद्ध लागू गरेको २१औँ चरणको प्रतिबन्धको जवाफमा रुसले युरोपेली संघका प्रतिनिधिहरूलाई लक्षित गर्दै आफ्नो प्रवेश निषेध सूची व्यापक रूपमा विस्तार गरेको रुसी विदेश मन्त्रालयले शुक्रबार जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा युरोपेली संघका संस्था, सदस्य राष्ट्र तथा रुसविरोधी नीतिलाई समर्थन गर्ने केही युरोपेली राष्ट्रका प्रतिनिधिहरूलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ ।

मन्त्रालयका अनुसार नयाँ सूचीमा युक्रेनलाई सैन्य सहायता उपलब्ध गराउने निर्णयमा संलग्न व्यक्ति, रुसको क्षेत्रीय अखण्डता कमजोर पार्ने गतिविधिमा संलग्न व्यक्ति, रुसविरुद्ध प्रतिबन्ध लगाउने प्रक्रियामा सहभागी व्यक्ति तथा तेस्रो मुलुकसँग रुसको सम्बन्धमा क्षति पुर्‍याउने गतिविधिमा संलग्न व्यक्तिहरू समावेश छन् ।

त्यसैगरी, रुसको समुद्री आवागमनमा अवरोध पुर्‍याउने गतिविधिमा संलग्न व्यक्तिमाथि पनि प्रतिबन्ध लगाइएको मन्त्रालयले जनाएको छ । रुसले युरोपेली मुलुकका रुसप्रति विरोधी धारणा राख्ने नागरिक अभियन्ता तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरू माथि पनि प्रतिबन्ध लगाएको जनाएको छ ।

युरोपेली संघका सदस्य राष्ट्रका राष्ट्रिय संसद तथा युरोपेली संसदमा रुसविरोधी प्रस्ताव र कानुनका मस्यौदाका पक्षमा मतदान गर्ने सदस्यहरूलाई समेत नयाँ प्रवेश निषेध सूचीमा राखिएको रुसी विदेश मन्त्रालयले जनाएको छ ।

कमेन्टहरु