आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव


सप्तरी, असोज २। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारी र आन्तरिक रोजगारीलाई सँगसँगै लैजानुुपर्ने आवश्यकता औँल्याउनुभएको छ । श्रम तथा रोजगार कार्यालय मधेस प्रदेशले रूपनी गाउँपालिका–५ स्थित रहेको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा आज आयोजना गरेको निर्माण उद्योगमा काम गर्ने श्रमिकहरूको लागि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी एकदिने सचेतनामुलक कार्यक्रममा उहाँले आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
“आन्तरिक रोजगारीतर्फ सर्वसाधारणलाई आकर्षित गर्न धेरै कामहरू गर्नुपर्नेछ । रोजगारदाता र श्रमिक एक अर्काको पूरक भएकाले यी दुवै पक्षलाई सबल बनाउन आवश्यक छ”, मन्त्री यादवले भन्नुभयो, “वैदेशिक रोजगारीसँगै आन्तरिक रोजगारीमा सबल बन्न सके हाम्रो मुलुक सबल र आत्मनिर्भर बन्छ ।”
श्रमिकहरू, स्थानीय बुद्धिजीवी तथा स्थानीय सरोकारवालाहरूको उपस्थित रहेको कार्यक्रममा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविण, रूपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवलगायत पालिकाका प्रमुखहरू, सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, सप्तरीका प्रहरी प्रमुख एसपी रूपक खड्कालगायतको उपस्थिति रहेको थियोे ।






















