समाज

सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न

रासस
२०८३ भदौ २९ | बिहान ०७:०५ बजे

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा कृषि उपज भण्डारणका लागि छ वटा शीत भण्डार (कोल्ड स्टोर) निर्माण सम्पन्न भएको छ । यस्तै, सात वटा निर्माणाधीन छन् ।

कृषि विकास निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार सुदूरपश्चिमका अछाम र बाजुरामा २० मेट्रिक टन क्षमता कोल्ड स्टोर निर्माण सम्पन्न भइसकेको छ । यस्तै, दार्चुला, बैतडी र डडेलधुरामा कोल्ड स्टोर निर्माण कार्य जारी छ ।

त्यसैगरी, डोटीको राजपुर र जोरायलमा आलु तथा तरकारी भण्डारणका लागि २० मेट्रिक टन क्षमताका दुईवटा कोल्ड स्टोर निर्माणाधीन अवस्थामा रहेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा ३० मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माणाधीन अवस्थामा रहेको छ भने दोधार चाँदनी नगरपालिकामा ३० मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण सम्पन्न भइसकेको छ ।

कैलालीको भजनी र चुरेमा २० मेट्रिक टन क्षमताका एक–एकवटा कोल्ड स्टोर निर्माणाधीन छन् । यस्तै, लम्कीचुहामा ३० मेट्रिक टन र गोदावरीमा सबैभन्दा बढी ३५० मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण सम्पन्न भएको कृषि विकास निर्देशनालय दिपायलले जनाएको छ ।

तेह्रवटा कोल्ड स्टोर निमार्णका लागि प्रदेश सरकारले रु आठ करोड १५ लाख ९१ हजार लागत अनुमान गरेकामा रु छ करोड ६२ लाख नौ हजारमा ठेक्का सम्झौता भएको थियो ।

हालसम्म रु चार करोड तीन लाख ८३ हजार खर्च भइसकेको छ । तेह्रवटा कोल्ड स्टोरमध्ये छ वटा निर्माण सम्पन्न भएका छन् भने सात वटा निर्माणाधीन अवस्थामा रहेको निर्देशनालयका कृषि प्रसार अधिकृत केशवराज पाण्डेयले जानकारी दिए । “आलु तथा तरकारी भण्डारणका लागि निर्माण गरिएका कोल्ड स्टोरमा प्रि–कुलिङ च्याम्बरसमेत राखिएको छ”, उनले भने, “यी कोल्ड स्टोरले सुदूरपश्चिमका किसानको कृषि उपज भण्डारमा सहयोग पुग्छ ।”

दोधारा चाँदनीमा निर्माण सम्पन्न भएर सञ्चालनमा ढिलाइ भइरहेको कोल्ड स्टोर सञ्चालनमा ल्याउन पालिकाले प्रक्रिया अघि बढाएको छ ।

दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र जोशीले विद्युत् आपूर्तिको समस्याका कारण सञ्चालनमा आउन ढिलाइ भए पनि पालिकाले कोल्ड स्टोर सञ्चालनमा ल्याउन आवश्यक काम गरिरहेको बताए । “कम भोल्टेजका कारण सञ्चालनमा आउन नसकेको हो, त्यसका लागि नयाँ ट्रान्सफार्मर खरिद गर्नुपर्ने छ”, उनले भने, “पालिकाले ट्रान्सफार्मर खरिद गरेर छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको छ ।”

कोल्ड स्टोर नहुँदा यहाँका किसानलाई कृषि उपज भण्डारण गर्न समस्या हुने गरेको थियो । कोल्ड स्टोर सञ्चालनमा आए यहाँका किसानलाई ठुलो सहयोग पुग्ने कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख हरिप्रसाद पनेरुले बताए ।

जिल्लामा भण्डार सुविधा नहुँदा किसानले आलुको बीउ राख्नसमेत समस्या हुने गरेको उनले बताए । सुदूरपश्चिम सरकारबाहेक यहाँको बेदकोट नगरपालिकामा सङ्घीय सरकारको सहयोगमा १५ हजार क्विन्टल क्षमताको कोल्ड स्टोर निर्माणाधीन छ ।

कमेन्टहरु