राजनीति

सम्पूर्ण ब्याज खारेजकाे माग गर्दै शाेषित-उत्पीडित सङ्घले राख्यो २२ बुँदे माग

नवलपुर टुडे
२०८३ भदौ २४ | मध्यान्ह ०३:०५ बजे

काठमाडौं ।  वित्तीय भुमिहीन-किसान-मजदुर शाेषित-उत्पिडित सङ्घ नेपालले सम्पूर्ण ब्याज एवम् ऋणहरुकाे खारेजीको माग गर्दै २२ बुँदे माग सार्वजनिक गरेको छ । सनिज शर्माद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको :

`नेपालका वित्तीय संस्थाहरु बैङ्क, लघुवित्त, सहकारी, साहुमहाजन तथा मिटरब्याजि र दलाल नोकरशाही पुँजीपतिहरुबाट उत्पन्न गरिएका निकै कहालीलाग्दा शोषणहरुबाट हामी भुमिहीन, किसान र मजदुरहरु पिडित एवम् सिकार हुनु परिरहेको छ। नेपालमा बाणिज्य बैङ्क २० वटा, बिकास बैङ्क १७ वटा, वित्त कम्पनी १७ वटा, लघु वित्त संस्था ६४ वटा, पुर्वाधार विकास बैङ्क १ वटा, सहकारी संस्था ३१,३७३ वटा, बीमा कम्पनी ३६ वटा, बैङ्क तथा वित्तीय संस्थाका शाखा ११, ६२९ वटा, बैङ्कबाट ऋण लिने १८% र बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिने ४६% रहेका छन् । यिनै संस्थाहरुका मालिक एवम् दलाल नोकरशाही पुँजीपति, साहुमहाजन तथा मिटरब्याजिहरुका वित्तीय संस्थाहरुले अनाधिकृत रुपमा चक्रिय ब्याज, मिटर ब्याज र ब्याज एवम् ऋणहरु मार्फत हामी माथि शोषण गरिएको छ। हर्जनाका नाममा हामीलाई प्रताडित पारिएको छ। हाम्रो भुमि, उत्पादन, रोजगार, पुँजी र धितो लुटपाट गरिएको छ। गाँस, बास र कपासबाट बञ्चित बनाईएको छ। हुँदाहुदै हामीलाई स्वास्थ्य उपचार नपाएर अकालमा मर्नु पर्ने बाध्यतामा पुऱ्याईएको छ। मानसिक यातनाबाट प्रताडित बनाईएको छ। शिक्षा नपाएर अन्धकारमय जीवन बाँच्न वाध्य परिरहेको छ। हामी भुमिहीन, किसान, मजदुर, पिडित महिला, दलित र पिछडिएको वर्ग र समुदायहरुलाई ऋणीका रूपमा अपमानित र दुर्ववहार गर्दै अमानवीय शोषण गरिएको छ। षड्यन्त्र र पहुँचको दम्भका आधारमा झुठो मुद्दा मार्फत मुद्दा मामिला, जेलनेल, हिरासत एवम् कारागारको सजाय अनावश्यक रुपमा भोग्न बाध्य पारिएको छ । तसर्थ हामीलाई यी सबै समस्याहरुबाट सम्पूर्ण रूपले मुक्ति दिन सरकारसँग निम्न माग राख्दै सम्पूर्ण वित्तीय-भुमीहीन-किसान-मजदुरहरुलाई सङ्घर्षको बाटोमा अघि बढ्न अपिल गर्दछौं ।

हाम्रा मागहरु
१) वित्तीय संस्थाहरुको आँतकबाट गुमेको हाम्रो कृषि, उत्पादन, रोजगारी, भुमि, पुँजी र धितो फिर्ता गर !
२) वित्तीय संस्थाहरुको आँतकबाट विस्थापित व्यक्तिहरुलाई समाजमा पुर्नरस्थापित गर !
३) सम्पूर्ण वित्तीय शोषणको अन्त्य गर !
४) हर्जना मिनाहा एवम् सम्पूर्ण ब्याजहरु खारेज गर !
५) अनाधिकृत रुपको चक्रिय ब्याज, मिटर ब्याज र सम्पूर्ण ब्याजहरु पुर्ण रुपले खारेज गर !
६) हाम्रो उत्पादन वृद्धि, बजारीकरण, विकास र संरक्षणको प्रबन्ध गर !
७) भुमिहीन, किसान र मजदुर, महिला, दलित र पिछडिएको वर्ग समुदायलाई ऋणीका रुपमा अपमानित र दुर्ववहार गर्दै अमानवीय शोषण गर्ने कार्य बन्द गर !
८) सम्पूर्ण ऋणहरु खारेज गरी त्यसबाट मुक्त गरि कृषि उपार्जन सहित आत्मनिर्भर बनाउन विशेष व्यवस्था गर !
९) न्याय पुर्ण एवम् वित्तीय आतङ्क विरुद्ध सङ्घर्ष गर्ने क्रममा जेलनेल, मुद्दा मामिला र हिरासतमा रहनु भएका बन्दी एवम् पिडितहरुलाई तुरुन्तै रिहाइ गर !
१०) विस्थापित भुमिहीन, किसान र मजदुरहरुलाई अनिवार्य आवासको व्यवस्था तुरुन्तै गर !
११) किसानहरुको सम्पूर्ण ऋण मिनाहा गरि किसान बिमा सहित क्षतिपूर्तिको व्यवस्था गर !
१२) मजदुरहरुको गुमेको रोजगारीलाई पुर्नस्थापित गर !
१३) मजदुरहरुको जीवन बीमा अनिवार्य लागु गर !
१४) हाम्रो राष्ट्रियता, जनतन्त्र र जनजिविकाको सम्बर्द्धन गर !
१५) वैदेशिक वित्तीय शोषणको एकाधिकार खारेज गर !
१६) वित्तीय सहायताको नाममा भईरहेको वैदेशिक हस्तक्षेप बन्द गर !
१७) वैदेशिक लगानी र प्रबर्द्धनका नाममा हुने गरेको घरेलु कच्चा पदार्थको तस्करी बन्द गर !
१८) वैदेशिक पुँजीको लगानीले राष्ट्रिय पुँजी र उत्पादनलाई विस्थापित गरेकोले राष्ट्रिय पुँजी र उत्पादनको बजारीकरण, उत्पादन, संरक्षण र प्रवर्द्धन गर !
१९) भुमिहीन, किसान र मजदुरहरुले उत्पादन गरेको माललाई अन्तर्राष्ट्रिय बजारीकरण गर !
२०) ससम्मान राष्ट्रिय हित अनुकुल हुने वैदेशिक लगानी र पुँजीमा मात्रै सहकार्य गर !
२१) अनिवार्य शिक्षा र स्वास्थ्यको निशुल्क व्यवस्था गर !
२२) अनिवार्य रोजगारीको व्यवस्था गर !
मिति २०८३ भदौ २० गते
संयाेजक
सनिज शर्मा´

कमेन्टहरु