समाज

भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप

रासस
२०८३ भदौ २२ | मध्यान्ह १२:०५ बजे

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरलगायत स्थानमा सडक भासिएर अवरुद्ध बनेपछि भरतपुर–काठमाडौं हवाई यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै भरतपुरबाट उडान दोब्बरभन्दा बढी गरिएको छ ।

भरतपुरबाट काठमाडौंका लागि बुद्ध एयरको मात्रै जहाज सञ्चालन हुँदै आएका छन् ।

बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा भरतपुरबाट काठमाडौंका लागि दैनिक पाँच उडान हुँदै आएकोमा सडक असहज बनेसँगै संख्या बढाएर ११ वटासम्म पुर्‍याइएको छ ।

दैनिक उडान आवश्यकताअनुसार ९ देखि ११ सम्म पुर्याइएको उनले जानकारी दिए ।

यहाँबाट काठमाडौं आवतजावत गर्ने ‘एटीआर ७२’ जहाज हो । यसले काठमाडौंबाट आउँदा ६५ देखि ७० र यहाँबाट काठमाडौं जाँदा ५० जना यात्रु ओसार्ने गर्छ । क्षमता ७२ जनाको भए पनि धावन मार्ग छोटो भएका कारण क्षमता अनुसारको यात्रु ओसार्न सक्दैन ।

कमेन्टहरु