जुवा खेलिरहेको अवस्थामा रास्वपा नेतासहित पाँच जना पक्राउ


बाँके । बाँकेको कोहलपुरमा जुवा खेलिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक स्थानीय नेतासहित पाँच जना पक्राउ परेका छन्। शुक्रबार राति कोहलपुर नगरपालिका–१३ स्थित खड्कवारबाट रास्वपा बैजनाथ गाउँपालिका–४ का वडा सभापति कुलबहादुर ओलीसहित पाँच जनालाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार पक्राउ पर्ने अन्यमा कोहलपुर–१२ का धनबहादुर परियार, चन्द्रबहादुर बस्याल र बेलबहादुर डाँगी तथा कोहलपुर–५ का राम गुरुङ रहेका छन्। प्रहरीले उनीहरूबाट जुवा खेलिरहेको अवस्थामा २ लाख २ हजार रुपैयाँ नगद बरामद गरेको जनाएको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हरि पुनका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ। प्रहरीले जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्नता सम्बन्धमा आवश्यक अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।






















