इरान युद्ध कहिले सकिन्छ भनेर भान्सले दिन मानेनन् टाइमलाइन

एजेन्सी

वासिङ्टन डीसी । अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले इरानविरुद्ध चलिरहेको अमेरिका–इजरायल युद्ध कहिले सकिन्छ भनेर अनुमानित टाइमलाइन दिन अस्वीकार गरेका छन् । लामो समयदेखि जारी द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा बजारमा दबाब बढिरहेको छ ।
युद्धको बाछिटा अमेरिकामा पनि देखिएको छ । अमेरिकाभित्र पनि युद्धप्रति आम जनतामा असन्तुष्टि बढिरहेको छ । यस्तो बेलामा भान्सले बिहीबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा द्वन्द्वको प्रभावलाई कम आँक्ने प्रयास गरेका हुन् । यस क्रममा उनले युद्धलाई ‘युद्ध’ भनेर सम्बोधन गर्नसमेत असहज माने ।
‘म त यसलाई युद्ध नै भन्दिनँ । अहिले सक्रिय रुपमा गोलीबारी भइरहेको छैन,’ उनले भने । यद्यपि, आफ्नो बोली सच्याउँदै उनले पछिल्ला दिनमा केही स्थानमा द्वन्द्व पुनः चर्किएको स्वीकार भने गरे । उनका अनुसार अमेरिकी सैन्य कारबाहीको मुख्य चरण करिब छ हप्ता मात्र चलेको थियो र त्यस क्रममा इरानको रक्षा उत्पादन क्षमतामा ठूलो क्षति पुर्याइएको छ ।
युद्धको प्रमुख केन्द्र बनेको स्टे«ट अफ होर्मुजतर्फ ध्यान केन्द्रित गर्दै भान्सले इरानमाथि उक्त महत्त्वपूर्ण जलमार्गबाट व्यापारिक जहाजको आवागमन रोकिरहेको आरोप लगाए । ‘यो कहिले अन्त्य हुन्छ भनेर सोध्दा तपाईंले मलाई ‘इरानीहरूले जहाजमाथि गोली चलाउन कहिले बन्द गर्छन् ?’ भन्ने प्रश्न सोधिरहनुभएको छ,’ भान्सले पत्रकारहरूसँग भने । ‘मलाई लाग्छ कि वास्तविकता यही हो कि मलाई त्यो प्रश्नको उत्तर थाहा छैन । तपाईंहरूले इरानीहरूलाई नै सोध्नुपर्छ,’ उनको भनाई थियो ।
फेब्रुअरी २८ मा युद्ध सुरु हुनुअघि स्टे«ट अफ होर्मुजमा व्यापारिक जहाजको आवागमन सामान्य थियो । तर त्यसपछि अमेरिका र इजरायलले इरानमाथि प्रारम्भिक हमला गरेपछि इरानले व्यावसायिक जहाजका लागि जलमार्ग बन्द गरिदियो । युद्धअघि विश्वमा खपत हुने करिब २० प्रतिशत तेल तथा ग्यास यही जलमार्ग हुँदै ओसारपसार हुने गरेको थियो । अमेरिकी सैन्य कारबाहीले स्ट्रट अफ होर्मुजबाट तेलको आपूर्ति बढाउन आवश्यक वातावरण तयार पारिरहेको दाबी भान्सको थियो ।
करिब ६५ अर्ब ब्यारेल तेल भण्डार भेनेजुएलाले अमेरिकालाई हस्तान्तरण गर्ने गरी नयाँ सम्झौता भएको छ । यसले पनि विश्वव्यापी तेलको मूल्य घटाउन सहयोग गर्नेमा भान्सले जोड दिएका थिए । ‘इरानीहरूले जहाजमाथि गोली चलाउँदा त्यसले विश्व ऊर्जा बजारमा पार्ने प्रभाव कहिले रोकिन्छ ? यसको उत्तर यही हो कि दिनप्रतिदिन त्यसको प्रभाव पनि कम हुँदै गएको छ,’ भान्सले भने ।
युद्धमा पर्याप्त योगदान नगरेको भन्दै भान्सले अमेरिकी सहयोगी राष्ट्रहरूको आलोचना पनि गरे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वका कारण विश्वव्यापी ऊर्जा संकट थप गम्भीर हुनबाट रोकिएको दाबी उनले गरे । ‘हामी अहिले व्यापारिक जहाजको सुरक्षा गरिरहेका छौँ, ताकि विश्वव्यापी ऊर्जा संकट नआओस्,’ अझ अगाडि उनले भने । ‘ऊर्जा संकट नआउनुको एकमात्र कारण राष्ट्रपतिको नेतृत्व अनि हाम्रो सेनाको उत्कृष्ट काम हो,’ उनले भने ।
इरानको तटीय सहर सिरिकमा विवाह समारोहलाई निशाना बनाएर गरिएको भनिएको अमेरिकी हमलाबारे सोधिएको प्रश्नमा भान्सले अमेरिकी सेनाले घटनाको अनुसन्धान गरिरहेको बताए । उक्त घटनामा बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु र करिब ७० जना घाइते भएको रिपोर्ट गरिएको छ । इरानी सरकारबाट आएको घटनासम्बन्धी विवरणप्रति भने आफू अत्यन्तै शंकालु रहेको भान्सले बताए । यस घटनाको अनुसन्धान गरिरहेको अनि सेनाबाट गल्ती भएकै भएपनि त्यसबाट सिकेर भविष्यमा अझ राम्रो गर्ने प्रयास गरिनेमा उनले जोड दिए । अमेरिकी सेनाले भने आफूले सर्वसाधारणलाई कहिल्यै निशाना नबनाएको दाबी गरेको छ ।

रुपन्देहीमा १० हजार भूमिहीन र ७१ हजार बढी अव्यवस्थित बसोबासी

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल
अरुपनि पढ्नुहोस
सबै
खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट

हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान
















