इरान युद्ध कहिले सकिन्छ भनेर भान्सले दिन मानेनन् टाइमलाइन


वासिङ्टन डीसी । अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले इरानविरुद्ध चलिरहेको अमेरिका–इजरायल युद्ध कहिले सकिन्छ भनेर अनुमानित टाइमलाइन दिन अस्वीकार गरेका छन् । लामो समयदेखि जारी द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा बजारमा दबाब बढिरहेको छ ।
युद्धको बाछिटा अमेरिकामा पनि देखिएको छ । अमेरिकाभित्र पनि युद्धप्रति आम जनतामा असन्तुष्टि बढिरहेको छ । यस्तो बेलामा भान्सले बिहीबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा द्वन्द्वको प्रभावलाई कम आँक्ने प्रयास गरेका हुन् । यस क्रममा उनले युद्धलाई ‘युद्ध’ भनेर सम्बोधन गर्नसमेत असहज माने ।
‘म त यसलाई युद्ध नै भन्दिनँ । अहिले सक्रिय रुपमा गोलीबारी भइरहेको छैन,’ उनले भने । यद्यपि, आफ्नो बोली सच्याउँदै उनले पछिल्ला दिनमा केही स्थानमा द्वन्द्व पुनः चर्किएको स्वीकार भने गरे । उनका अनुसार अमेरिकी सैन्य कारबाहीको मुख्य चरण करिब छ हप्ता मात्र चलेको थियो र त्यस क्रममा इरानको रक्षा उत्पादन क्षमतामा ठूलो क्षति पुर्याइएको छ ।
युद्धको प्रमुख केन्द्र बनेको स्टे«ट अफ होर्मुजतर्फ ध्यान केन्द्रित गर्दै भान्सले इरानमाथि उक्त महत्त्वपूर्ण जलमार्गबाट व्यापारिक जहाजको आवागमन रोकिरहेको आरोप लगाए । ‘यो कहिले अन्त्य हुन्छ भनेर सोध्दा तपाईंले मलाई ‘इरानीहरूले जहाजमाथि गोली चलाउन कहिले बन्द गर्छन् ?’ भन्ने प्रश्न सोधिरहनुभएको छ,’ भान्सले पत्रकारहरूसँग भने । ‘मलाई लाग्छ कि वास्तविकता यही हो कि मलाई त्यो प्रश्नको उत्तर थाहा छैन । तपाईंहरूले इरानीहरूलाई नै सोध्नुपर्छ,’ उनको भनाई थियो ।
फेब्रुअरी २८ मा युद्ध सुरु हुनुअघि स्टे«ट अफ होर्मुजमा व्यापारिक जहाजको आवागमन सामान्य थियो । तर त्यसपछि अमेरिका र इजरायलले इरानमाथि प्रारम्भिक हमला गरेपछि इरानले व्यावसायिक जहाजका लागि जलमार्ग बन्द गरिदियो । युद्धअघि विश्वमा खपत हुने करिब २० प्रतिशत तेल तथा ग्यास यही जलमार्ग हुँदै ओसारपसार हुने गरेको थियो । अमेरिकी सैन्य कारबाहीले स्ट्रट अफ होर्मुजबाट तेलको आपूर्ति बढाउन आवश्यक वातावरण तयार पारिरहेको दाबी भान्सको थियो ।
करिब ६५ अर्ब ब्यारेल तेल भण्डार भेनेजुएलाले अमेरिकालाई हस्तान्तरण गर्ने गरी नयाँ सम्झौता भएको छ । यसले पनि विश्वव्यापी तेलको मूल्य घटाउन सहयोग गर्नेमा भान्सले जोड दिएका थिए । ‘इरानीहरूले जहाजमाथि गोली चलाउँदा त्यसले विश्व ऊर्जा बजारमा पार्ने प्रभाव कहिले रोकिन्छ ? यसको उत्तर यही हो कि दिनप्रतिदिन त्यसको प्रभाव पनि कम हुँदै गएको छ,’ भान्सले भने ।
युद्धमा पर्याप्त योगदान नगरेको भन्दै भान्सले अमेरिकी सहयोगी राष्ट्रहरूको आलोचना पनि गरे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वका कारण विश्वव्यापी ऊर्जा संकट थप गम्भीर हुनबाट रोकिएको दाबी उनले गरे । ‘हामी अहिले व्यापारिक जहाजको सुरक्षा गरिरहेका छौँ, ताकि विश्वव्यापी ऊर्जा संकट नआओस्,’ अझ अगाडि उनले भने । ‘ऊर्जा संकट नआउनुको एकमात्र कारण राष्ट्रपतिको नेतृत्व अनि हाम्रो सेनाको उत्कृष्ट काम हो,’ उनले भने ।
इरानको तटीय सहर सिरिकमा विवाह समारोहलाई निशाना बनाएर गरिएको भनिएको अमेरिकी हमलाबारे सोधिएको प्रश्नमा भान्सले अमेरिकी सेनाले घटनाको अनुसन्धान गरिरहेको बताए । उक्त घटनामा बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु र करिब ७० जना घाइते भएको रिपोर्ट गरिएको छ । इरानी सरकारबाट आएको घटनासम्बन्धी विवरणप्रति भने आफू अत्यन्तै शंकालु रहेको भान्सले बताए । यस घटनाको अनुसन्धान गरिरहेको अनि सेनाबाट गल्ती भएकै भएपनि त्यसबाट सिकेर भविष्यमा अझ राम्रो गर्ने प्रयास गरिनेमा उनले जोड दिए । अमेरिकी सेनाले भने आफूले सर्वसाधारणलाई कहिल्यै निशाना नबनाएको दाबी गरेको छ ।






















