काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।
भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सुरुङभित्र मानिसहरू थुनिएको खबरले चौतर्फी चिन्ता बढाएको थियो। तर, सेनाको टोलीले अत्यन्तै चुनौतीपूर्ण परिस्थितिका बीच उद्धार कार्य सफल बनाएको जानकारी प्रधानमन्त्रीको सचिवालयले दिएको छ।
उक्त सुरुङभित्र अझै पनि १०० जनाभन्दा बढी व्यक्तिहरू फसेको अनुमान गरिएको छ। सेनाले बाँकी रहेका मानिसहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।
बाढी प्रभावित रसुवाका विभिन्न क्षेत्रहरूमा नेपाली सेनाको विपद् उद्धार टोली सक्रिय रूपमा परिचालन भएको छ। सेनाले बिहीबार मात्रै प्रभावित स्थानहरूबाट कुल ८८३ जना स्थानीय तथा मजदुरहरूलाई सुरक्षित स्थानमा उद्धार गरिसकेको जनाएको छ।
























