पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय


ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको आकस्मिक केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक रूपमा गएको ठूलो बाढीका कारण सिर्जना भएको गम्भीर र चिन्ताजनक स्थितिमा उद्धार र राहत कार्यमा तुरुन्त जुट्न निर्देशन दिए ।
प्रभावित क्षेत्रमा सहयोगमा क्रियाशील आज तय भएको ‘ग्रिन टेवल’ र भोलि बिहीबारका लागि तय भएको ‘महिला उद्यमी सम्मेलन’ समेत स्थगित गरिएको उनले जानकारी दिए । “यस विपद्को अवस्थामा भोटेकोशी, त्रिशूली नदीको तल्लो तटीय र आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गर्दछु, सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न र सबै तहका सरकारसँग समन्वय गरेर उद्धार राहतमा केन्द्रित रहन अनुरोध गर्दछु”, सभापति थापाले भने, “सरकारले बोलाएको बैठकमा संसदीय दलका नेता र रसुवाका सांसदले उपस्थित भएर आफ्नो कुरा राखिसक्नुभएको छ, विपद् व्यवस्थापनका लागि सरकारको प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहनेछ ।”
उनले रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यको संयोजकत्वमा बाढी प्रभावितहरूका लागि सहयोग जुटाउन र सरकारसँग समन्वय गरेर देशभरका पार्टीका सदस्यहरूबाट सहयोग जुटाउन क्रियाशील रहने समेत जानकारी गराए ।






















