इरानलाई सघाउने देशले गम्भीर आर्थिक परिणाम भोग्ने ट्रम्पको चेतावनी

एजेन्सी


वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कुनै पनि प्रकारको सहयोग वा आर्थिक सहारा दिने देशले गम्भीर आर्थिक परिणाम भोग्नु पर्ने चेतावनी दिएका छन् । ६ महिना अघि इजरायलसँग मिलेर इरानमा सुरु गरेको युद्ध अन्त्य गर्न प्रयास बारम्बार असफल भइरहेको समयमा ट्रम्पले यो चेतावनी दिएका हुन् ।
इरान युद्ध सुरु भएयता खाडी क्षेत्रमा हजारौँ मानिसको ज्यान गइसकेको छ । इरान युद्धका कारण महत्त्वपूर्ण तेल ढुवानी मार्ग स्टेट अफ होर्मुज ठप्पप्रायः बनेसँगै विश्व बजारमा समेत यसले ठुलो प्रभाव पारेको छ । युद्ध सुरु हुनुअघि विश्वभर आपूर्ति हुने झन्डै २० प्रतिशत तेल यही जलमार्ग हुँदै ओसारपसार हुन्थ्यो ।
तर ट्रम्पले त्यस्तो सहयोग गर्ने देशमाथि अमेरिकाले कस्ता ठोस कदम चाल्नेछ भन्नेबारे विस्तृत जानकारी दिएका छैनन् । उनले कुनै देशको नाम पनि उल्लेख गरेका छैनन् । इरानले सन् १९७९ को इस्लामिक क्रान्तिपछि करिब पाँच दशकदेखि अमेरिकी आर्थिक प्रतिबन्धको सामना गर्दै आएको छ ।
अमेरिका र इरानबिच स्टेट अफ होर्मुजबाट युद्धअघि जस्तै सहज रूपमा जहाज आवागमन पुनः सुरु गर्ने उद्देश्यले अप्रिल र जुनमा दुईपटक युद्धविराम सम्झौता घोषणा गरिएको थियो । तर दुवै सम्झौता छोटो समयमै विफल भए । यसबिच इजरायल भने युद्धबाट ठुलो मात्रामा पछि हटेको बताइएको छ ।
अमेरिकाको प्रमुख सैन्य आधार रहेको संयुक्त अरब इमिरेट्स (यूएई)ले मंगलबार इरानसँगको सबै व्यापारिक गतिविधि, व्यावसायिक आदानप्रदान र वित्तीय कारोबार अनिश्चितकालका लागि रोक्ने घोषणा गरेको थियो । युएईको रक्षा मन्त्रालयले इरानबाट प्रहार गरिएका दुईवटा क्षेप्यास्त्र समुद्रमा खसेको पत्ता लगाएको दाबी गरेपछि उक्त निर्णय आएको हो । तर इरानले युएईको दाबीलाई आधारहीन भनेको छ ।
इरानको तेल निर्यातको ठुलो हिस्सा चीनले खरिद गर्दै आएको छ। विश्लेषणात्मक संस्था केप्लरका सन् २०२५ का तथ्यांकअनुसार इरानबाट समुद्री मार्ग हुँदै निर्यात हुने तेलको ८० प्रतिशतभन्दा बढी चीनले किनेको थियो । तर इरानलाई सहयोग गरेको भन्दै चीनमाथि थप आर्थिक दबाब बढाउँदा अमेरिकाले समेत जोखिम मोल्नुपर्ने अवस्था छ । चीन अमेरिकाको ठुलो व्यापारिक साझेदार हुनुका साथै दुर्लभ खनिजलगायत महत्त्वपूर्ण सामग्रीको प्रमुख आपूर्तिकर्ता हो । यसकारण चीनमाथि थप आर्थिक कारबाही गर्दा चीनले प्रतिकारात्मक कदम चाल्ने जोखिम पनि छ ।
इरानका सर्वोच्च नेताका सल्लाहकार मोहम्मद मुखबरले इरान अमेरिका संवादका लागि खुला रहेको तर वार्तालाई आत्मसमर्पणका रूपमा नलिने बताएका छन् ।सैन्य दबाब र प्रतिबन्धले इरानको अडान कमजोर पार्न नसक्ने उनको जिकिर छ । तर ट्रम्पले मंगलबार इरानसँग कुनै वार्ता भई नरहेको बताएका थिए । त्यसको एक दिनअघि उनका ज्वाइँ तथा विशेष दूत जारेड कुशनरले भने इरानसँगको वार्ता जारी रहेको र पहिलेभन्दा अझ सक्रिय रहेको बताएका थिए ।
ट्रम्पले इरानसँग नयाँ र अझ कडा आणविक सम्झौता गर्न चाहेका छन् । इरानको अत्यधिक समृद्ध युरेनियमको भण्डार नियन्त्रणमा लिन र उसको आणविक ऊर्जा तथा अनुसन्धान कार्यक्रमलाई थप कडाइका साथ सीमित गर्ने ट्रम्पको आशय छ । अमेरिकाले सन् २०१८ मा एकतर्फी रूपमा पुरानो आणविक सम्झौताबाट बाहिरिएको थियो । इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको दाबी गर्दै आएको छ ।

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न

बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान
अरुपनि पढ्नुहोस
सबै
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम रोक्न फोनिजको माग, १३ बुँदे सप्तरी घोषणापत्र जारी

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
















