चर्को घाममा पनि कोशी नदीमै सुरक्षाकर्मीको पहरा, श्रद्धालुको सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता

सुनसरी/सप्तरी । चर्को घामको समेत पर्वाह नगरी सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरू सप्तकोशी नदीमा बोटमार्फत सुरक्षा निगरानीमा खटिएका छन्। देश र जनताको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै उनीहरूले आफ्नो जिम्मेवारीप्रति निरन्तर समर्पण देखाएका छन्।
श्रावण महिनाको प्रत्येक सोमबार कोशी ब्यारेजमा जल भर्न, स्नान गर्न तथा पूजा–अर्चना गर्न ठूलो संख्यामा श्रद्धालु भक्तजन आउने गरेका छन्। भक्तजनको भीड र नदीमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विपद् व्यवस्थापन बेस भारदबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसागर बिष्टको नेतृत्वमा टोली परिचालन गरिएको छ।
उक्त टोलीले कोशी ब्यारेजको ५६ नम्बर ढोकानजिक बोट राखेर ११ जना सुरक्षाकर्मीसहित नियमित रूपमा नदी क्षेत्रमा निगरानी गरिरहेको छ। चर्को घाममा समेत बोटमै बसेर सुरक्षाकर्मीहरूले नदीमा जाने श्रद्धालुहरूको गतिविधि निगरानी गर्नुका साथै कुनै अप्रिय घटना भए तत्काल उद्धार गर्न सकिने गरी आफूलाई तयारी अवस्थामा राखेका छन्।
विशेषगरी श्रावण महिनामा सोमबारका दिन भक्तजनको संख्या बढ्ने भएकाले नदीमा स्नान तथा जल भर्ने क्रममा हुन सक्ने दुर्घटना रोकथाम र आपत्कालीन उद्धारलाई प्राथमिकता दिइएको सशस्त्र प्रहरीले जनाएको छ।
घामको ताप होस् वा नदीको जोखिम, आफ्नो कर्तव्यबाट पछि नहटी नागरिकको सुरक्षाका लागि सुरक्षाकर्मीहरू निरन्तर खटिएका छन्। देश र जनताको सुरक्षाका लागि प्रतिकूल परिस्थितिमा समेत जिम्मेवारी पूरा गरिरहेको सशस्त्र प्रहरीको यो सक्रियता प्रशंसनीय देखिन्छ।
सुरक्षाकर्मीहरूको यस्तो पूर्वतयारीले कोशी ब्यारेजमा आउने श्रद्धालु भक्तजनलाई सुरक्षित वातावरणमा पूजा–अर्चना तथा जल भर्न सहज भएको छ। साथै, नदीमा प्रवेश गर्दा सावधानी अपनाउन र सुरक्षाकर्मीले दिएको सुझाव तथा निर्देशन पालना गर्न सबै श्रद्धालुलाई आग्रह गरिएको छ।






















