पश्चिम एसियामा ‘फाल्कन स्ट्राइक’ को योजना बनाउँदै सेन्टकम


वासिङ्टन डीसी । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले पश्चिम एसियामा जारी द्वन्द्व र बढ्दो सुरक्षा तनावका बिच पहिलो बहुराष्ट्रिय तथा बहु-क्षेत्रीय आक्रमणकारी ड्रोन टास्क फोर्स गठन गर्ने योजना सार्वजनिक गरेको छ।
अमेरिकी सेनाका अनुसार नयाँ इकाइको नाम ‘टास्क फोर्स फाल्कन स्ट्राइक’ राखिएको छ। यसले अमेरिका र पश्चिम एसियाका साझेदार देशहरूले सञ्चालन गर्ने मानवरहित प्रणालीलाई एउटै संरचनामा समेटेर हवाई, समुद्री सतह र पानीमुनिसहित विभिन्न क्षेत्रमा प्रयोग गर्न सकिने आक्रमणकारी ड्रोन क्षमतालाई एकीकृत गर्ने लक्ष्य राखेको छ।
सेन्टकमले टास्क फोर्स स्कर्पियन स्ट्राइक स्थापना गरेको करिब नौ महिनापछि फाल्कन स्ट्राइकको घोषणा गरेको हो। अमेरिकी सेनाले स्कर्पियन स्ट्राइकलाई मध्यपूर्वमा वन-वे आक्रमणकारी ड्रोनका लागि स्थापना गरिएको आफ्नो पहिलो समर्पित स्क्वाड्रन भनेको छ।
स्थापनापछि स्कर्पियन स्ट्राइकले मानवरहित प्रणालीको सैन्य प्रयोगमा विभिन्न महत्त्वपूर्ण उपलब्धि हासिल गरेको सेन्टकमको दाबी छ। गत वर्ष डिसेम्बरमा अमेरिकी नौसेनाको युद्धपोतबाट हवाई आक्रमणकारी ड्रोन प्रक्षेपण गरिएको थियो।
सेन्टकमका अनुसार यो उक्त इकाइको महत्त्वपूर्ण प्रारम्भिक परिचालन उपलब्धिमध्ये एक थियो। स्कर्पियन स्ट्राइकले पछि अपरेसन एपिक फ्युरीका क्रममा वन-वे मानवरहित हवाई प्रणाली प्रयोग गरेको अमेरिकी सेनाले जनाएको छ। त्यस्तै जुलाईमा इरानी बन्दरगाहका संरचनामाथि गरिएको आक्रमणका क्रममा मानवरहित आक्रमणकारी जलयान प्रयोग गरिएको जनाइएको छ।
फाल्कन स्ट्राइक अमेरिकी सेनाको एकल इकाइका रूपमा मात्र सीमित नरहने बताइएको छ। पश्चिम एसियाका विभिन्न देशसँग यसबारे छलफल सुरु गरिसकेको र साझेदार राष्ट्रहरूलाई औपचारिक रूपमा टास्क फोर्समा सहभागी हुन निमन्त्रणा दिएको सेन्टकमले जनाएको छ। साझेदार देशहरू सहभागी हुँदै गएसँगै फाल्कन स्ट्राइकको क्षमतामा विस्तार हुने अमेरिकी सेनाको अपेक्षा छ।
सेन्टकमका अनुसार यसको उद्देश्य पश्चिम एसियामा आक्रमणकारी ड्रोन तथा अन्य मानवरहित प्रणालीको क्षमता विस्तार गर्नु र विभिन्न देशका सेनाबिच समन्वय गरेर बहु-क्षेत्रीय तथा बहुराष्ट्रिय प्रतिरोध क्षमता बनाउनु हो। यसले भविष्यमा कुनै सुरक्षा सङ्कट उत्पन्न हुँदा साझेदार देशहरूले एउटै ढाँचामा मानवरहित प्रणाली परिचालन गर्न सक्ने सम्भावना बढाउनेछ।






















