सामाजिक सञ्जालमार्फत एक व्यक्तिलाई लक्षित


रौतहट, अशोक यादब २७ साउन । सामाजिक सञ्जालमार्फत एक व्यक्तिलाई लक्षित गरी आपत्तिजनक तथा अभद्र अभिव्यक्ति दिएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गरुडा नगर सभापति रविन्द्रप्रसाद यादव पक्राउ परेका छन्। घटनालाई लिएर पार्टीले समेत उनीसँग लिखित स्पष्टीकरण मागेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले यादवलाई मंगलबार साँझ करिब ७ बजे अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ। स्थानीय सागर यादवलाई लक्षित गर्दै सामाजिक सञ्जालमा अभद्र तथा आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले यादवलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको बताए।
घटनापछि रास्वपाको मधेश प्रदेश कार्यालयले पनि यादवसँग स्पष्टीकरण मागेको छ। प्रदेश कार्यालयका महासचिव मनीषकुमार साहद्वारा जारी पत्रमा यादव राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास नेपाली सम्पर्क विभागका सदस्यसमेत रहेको उल्लेख गर्दै एक नागरिकप्रति अभद्र गालीगलौज, अश्लील तथा अमर्यादित अभिव्यक्ति तथा व्यवहार गरेको सम्बन्धमा रौतहट जिल्ला समितिबाट गम्भीर उजुरी र प्रमाण प्राप्त भएको जनाइएको छ।
पत्रमा पार्टीको नीति, सिद्धान्त, विधान, अनुशासन तथा आचारसंहिताविपरीत हुने गरी सार्वजनिक तथा व्यक्तिगत व्यवहारमा संलग्न भएको आरोपबारे २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ। तोकिएको समयभित्र चित्तबुझ्दो स्पष्टीकरण प्राप्त नभएमा वा स्पष्टीकरण सन्तोषजनक नदेखिएमा पार्टी विधानअनुसार साधारण सदस्यसमेत नरहने गरी थप कारबाहीका लागि सम्बन्धित आयोग र केन्द्रीय सचिवालयमा सिफारिस गरिने चेतावनी दिइएको छ।
पार्टीले छानबिन प्रक्रिया नसकिएसम्म थप विवाद सिर्जना हुने सार्वजनिक अभिव्यक्ति वा संगठनात्मक गतिविधिमा संलग्न नहुन समेत यादवलाई सचेत गराएको छ।
रास्वपाभित्र सक्रिय नेताका रूपमा परिचित यादव आगामी स्थानीय तह निर्वाचनमा गरुडा नगरपालिकाको मेयर पदका आकांक्षीमध्ये एक मानिन्छन्। उनको पक्राउ र पार्टीको अनुशासनात्मक प्रक्रियाले रौतहटको राजनीतिक वृत्तमा चर्चा पाएको छ।
यादवमाथि लागेको आरोप भने हालसम्म पुष्टि भइसकेको छैन। प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ भने पार्टीले पनि स्पष्टीकरण र छानबिन प्रक्रियापछि मात्र आवश्यक निर्णय लिने संकेत गरेको छ।























