दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, प्रबास
आदिवासी जनजाति महासंघ यूएई तथा नेफिन आबद्ध जातिय संस्थाहरुको संयुक्त आयोजनमा ३२औँ विश्व आदिवासी दिवस कार्यक्रम यूएईमा भव्य रूपमा सम्पन्न भएको छ।


प्रवास दुबई, यूएई|
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूएईको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस–२०२६ वर दुवईको SK7 रेष्टुरेन्टको सभा हलमा ९ अगस्ट आईतबारको दिन भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। यूएईमा रहेका विभिन्न आदिवासी जनजाति समुदाय, जातीय संघ–संस्था, सामाजिक अभियन्ता तथा नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूएईका अध्यक्ष भागरथी कुमार भगतले गरेका थिए भने प्रमुख अतिथिका रूपमा नेपाली महावाणिज्यदूतावास यूएईका वाणिज्यदूत कुन्जन साहको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेफिन यूएईका निवर्तमान अध्यक्ष तथा प्रमुख संरक्षक विक्रम लिम्बू, गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् यूएईका अध्यक्ष टंक वहादुर गुरूङ, नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तान लगायत नेफिन आबद्ध आदिवासी जनजातिहरूको १२ वटा जातीय संस्थाका प्रमुख तथा प्रतिनिधि, नेपाल पत्रकार महासंघ यूएईका अध्यक्ष मेघराज सापकाेटा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ यूएईका निवर्तमान अध्यक्ष फलेन्द्र बालम्पकी मगर ज्यु लगायत अन्य दाधिकारीकोहरु , यूएईमा सञ्चालित प्रदेश संस्था, जिल्ला संस्था तथा नगरस्तरीय संघ–संस्थाका प्रतिनिधि र नेपाली समुदायका अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवात दीप प्रज्वलन, नेपाल तथा यूएईको राष्ट्रिय गान र आदिवासी राष्ट्रिय गानबाट गरिएको थियो। त्यसपछि नेफिन यूएईमा आबद्ध विभिन्न जातीय संस्थाका सामूहिक कलाकारहरूले मौलिक सांस्कृतिक नृत्य तथा प्रस्तुति प्रस्तुत गर्दै अतिथि तथा दर्शकलाई स्वागत गरेका थिए।
कार्यक्रममा विभिन्न जातीय संस्थाका प्रमुख तथा विशेष अतिथिहरूले शुभकामना मन्तव्य राखेका थिए। वक्ताहरूले विश्व आदिवासी दिवसको महत्वसँगै आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति, परम्परा तथा अधिकार संरक्षण र पुस्तान्तरणको आवश्यकतामाथि जोड दिएका थिए।
फोनिज यूएईको नयाँ कार्यसमिति औपचारिक घोषणा
सोही अवसरमा गत १२ जुलाईमा सम्पन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूएईको तेस्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको औपचारिक घोषणा समेत गरिएको थियो।
नयाँ कार्यसमितिको घोषणा प्रमुख निर्वाचन संयोजक विक्रम लिम्बू, निर्वाचन उपसंयोजक बुद्धि मेवाहाङ राई तथा निर्वाचन सदस्य कुमार बलामीले गरेका थिए।
मौलिक झाँकी र सांस्कृतिक प्रस्तुतिले बढायो कार्यक्रमको रौनक
कार्यक्रमको मुख्य आकर्षण विभिन्न आदिवासी जनजातिका मौलिक झाँकी, भेषभूषा तथा सांस्कृतिक प्रस्तुतिहरू बनेका थिए। विभिन्न जातजातिको मौलिक कला, संस्कृति र परम्परा झल्काउने झाँकी तथा प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
झाँकी कार्यक्रम Mr. & Miss Indigenous 2025 का विजेता किशनलाल चौधरी र देवी माया सुनुवारले संयुक्त रूपमा सञ्चालन गरेका थिए। सहभागीहरूले आ–आफ्नो मौलिक भेषभूषामा सजिएर संस्कृति तथा परम्पराको प्रदर्शन गर्दै आदिवासी जनजातिको विविधताभित्रको एकता र सहअस्तित्वको सन्देश प्रस्तुत गरेका थिए।
कार्यक्रमको औपचारिक सञ्चालन नेफिन यूएईका महासचिव मनिषा लिम्बू र सचिव देव घर्तीले संयुक्त रूपमा गरेका थिए।
औपचारिक कार्यक्रम सभापति भागरथी कुमार भगतको मन्तव्यसँगै सम्पन्न भएको थियो। त्यसपछि सांस्कृतिक कार्यक्रम अनौपचारिक रूपमा अघि बढाइएको थियो।
सांस्कृतिक प्रस्तुतिले दर्शकलाई थप मनोरञ्जन
सांस्कृतिक कार्यक्रम नेफिन यूएईका सांस्कृतिक विभाग प्रमुख प्रदीप पुन मगर र प्रवक्ता काजल तामाङले संयुक्त रूपमा सञ्चालन गरेका थिए। सांस्कृतिक कार्यक्रममा नेफिन यूएईमा आबद्ध विभिन्न जातीय संस्थाबाट सहभागी कलाकारहरूले आ–आफ्ना मौलिक तथा परम्परागत पोशाकमा सजिएर विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। गीत, नृत्य तथा मौलिक प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै विभिन्न समुदायका कला, संस्कृति र परम्परालाई चिनाउने अवसरसमेत प्रदान गरेको थियो।
कार्यक्रमका क्रममा नेफिन यूएईको स्थापना कालदेखि हालसम्म संस्थालाई योगदान पुर्याउँदै आएका सल्लाहकार समिति, कलाकार, प्रायोजक तथा सञ्चार तथा मिडिया पार्टनरहरूलाई मायाको चिनो, प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूएईलाई समेत मिडिया पार्टनरका रूपमा सम्मान गरिएको थियो।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघ–संस्था, अतिथि, कलाकार, स्वयंसेवक, सञ्चारकर्मी, प्रायोजक तथा सहभागीहरूलाई आयोजक नेफिन यूएईले धन्यवाद व्यक्त गरेको छ।

३२औँ विश्व आदिवासी दिवसले यूएईमा रहेका नेपाली आदिवासी जनजातिहरूबीच एकता, सहकार्य, मौलिक पहिचान, भाषा, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनको सन्देश दिएको आयोजकले जनाएको छ।






















