अमेरिकासँग प्रशस्त गोला–बारुद छन् : ट्रम्प


वाशिङटन डीसी । अमेरिकासँग अझै पनि प्रशस्त मात्रामा गोला–बारुद (म्युनिसन्स) रहेको दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन् । इरानसँग जारी युद्धका कारण अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)को हतियार भण्डार उल्लेखनीय रूपमा घटेको समाचार विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
आफ्नो सन्देशमा ट्रम्पले अमेरिकाको रक्षा क्षमता बलियो रहेको उल्लेख गर्दै आवश्यक सबै प्रकारका हतियार पर्याप्त मात्रामा उपलब्ध रहेको बताए । केही विशेष प्रकारका गोला–बारुदको भण्डार निकै ठूलो रहेको र आवश्यकताअनुसार नयाँ हतियारहरू निरन्तर उत्पादन गरी अमेरिकी सेनालाई उपलब्ध गराइरहेको दाबी पनि उनले गरे ।
यसअघि मङ्गलबार सीएनएनले अमेरिकी रक्षा मन्त्रालयको अवस्था सम्बन्धी एक रिपोर्ट सार्वजनिक गरेको थियो । उक्त रिपोर्टमा अमेरिकी सेनाले आफ्नो प्रमुख मिसाइल प्रतिरक्षा प्रणाली ‘थाड’ का करिब ८० प्रतिशत अवरोधक मिसाइल प्रयोग गरिसकेको उल्लेख गरिएको थियो । रिपोर्टमा धेरै स्रोतलाई उद्धृत गर्दै वरिष्ठ अमेरिकी सैन्य अधिकारीहरूले पेन्टागनको गोला–बारुद भण्डार खतरनाक रूपमा घट्दै गएको चेतावनी दिएको जनाइएको थियो ।
ट्रम्पले अप्रत्यक्ष रूपमासीएनएको समाचारको खण्डन गर्दै अमेरिकाको सैन्य क्षमता कमजोर नभएको बताएका छन् । उनले कुन प्रकारका गोला–बारुद पर्याप्त मात्रामा उपलब्ध छन् भन्नेबारे भने विस्तृत जानकारी दिएका छैनन् । उनका अनुसार रक्षा उद्योगहरू तीव्र गतिमा उत्पादन बढाइरहेका छन् र आवश्यक परे थप हतियार तत्काल निर्माण गर्न सक्ने क्षमता अमेरिकासँग छ । उनले नयाँ रक्षा उद्योग स्थापना तथा उत्पादन विस्तारलाई आफ्नो प्रशासनको उपलब्धिका रूपमा पनि प्रस्तुत गरेका छन् ।






















