इरानमा शक्ति सङ्घर्ष चर्किएको दाबी


काठमाडाैँ। इरानका सर्वोच्च नेता मोजताबा खमेनीले राष्ट्रपति मसुद पेजेस्कियानलाई ‘अन्तिम अल्टिमेटम’ दिएको र इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजीसी) का कमान्डर अहमद वहिदीको अडानलाई प्रमुख निर्णयमा समर्थन गरेपछि इरानभित्र राजनीतिक शक्ति सन्तुलनमा नयाँ तनाव देखिएको दाबी गरिएको छ। यो घटनाक्रम अमेरिका–इरानबीचको तनाव र क्षेत्रीय अस्थिरताका बीच सार्वजनिक भएको हो।
इजरायली प्रसारक च्यानल–१४ ले तेहरानका घटनाक्रमबारे जानकार स्रोतलाई उद्धृत गर्दै खमेनीले राष्ट्रपति पेजेस्कियानलाई पुनः राजीनामाको विकल्प प्रयोग नगर्न स्पष्ट सन्देश दिएको जनाएको छ । प्रतिवेदनअनुसार यसले पेजेस्कियानको प्रमुख राजनीतिक दबाबको माध्यमलाई निष्क्रिय बनाएको छ।
च्यानल–१४ का अनुसार खमेनीको पछिल्लो निर्णयले सैन्य नेतृत्वसँग पूर्ण सहकार्यको सङ्केत गरेको छ। प्रतिवेदनमा आइआरजीसी कमान्डर अहमद वहिदीको दृष्टिकोण अहिले इरानको आधिकारिक नीतिका रूपमा स्थापित भएको र संयुक्त राज्य अमेरिकासँग सम्बन्धित प्रमुख निर्णयमा उहाँलाई अन्तिम निर्णय गर्ने अधिकार दिइएको दाबी गरिएको छ।
प्रतिवेदनले इरानको राजनीतिक नेतृत्व र आइआरजीसीबीचको मतभेद पनि उल्लेखनीय रूपमा घटेको दाबी गरेको छ। साथै तेहरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरअघि कुनै ठुलो नीतिगत परिवर्तन नगर्ने निष्कर्ष निकाल्दै आफ्नो रणनीतिक तथा आर्थिक लाभ सुरक्षित गर्न अधिकतम दबाबको नीति कायम राख्न खोजेको पनि उल्लेख गरिएको छ।
त्यही स्रोतलाई उद्धृत गर्दै च्यानल–१४ ले तेहरान र वासिङ्टनबीचको सम्पर्क इरानी विदेशमन्त्री अब्बास अराग्ची र अमेरिकी विशेष दूत स्टिभ विटकोफ तथा जारेड कुशनरबीच हुने अप्रत्यक्ष संवादमा सीमित रहेको जनाएको छ। कतार र पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेले पनि हाल कुनै औपचारिक वार्ता नरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
यो प्रतिवेदन अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई सम्झौताका लागि ‘अन्तिम मौका’ दिइएको चेतावनी दिएको केही समयपछि सार्वजनिक भएको हो । ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र कतारको आग्रहपछि इरानविरुद्धको नियोजित सैन्य कारबाही स्थगित गरी कूटनीतिक प्रयासलाई निरन्तरता दिएको बताए।
ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले अमेरिका ठूलो सैन्य कारबाहीको तयारीमा पुगे पनि कूटनीतिक पहललाई प्राथमिकता दिएको बताए। उनले इरानसँग वार्ता जारी रहेको र त्यो इरानकै आग्रहमा साउदी अरेबिया, युएई, कतार तथा अन्य मुलुकको सहयोगमा भइरहेको दाबी गरे।
ट्रम्पले इरानले सार्वजनिक रूपमा वार्ता अस्वीकार गरे पनि दुवै पक्षबीच पटक–पटक लामो छलफल भएको दाबी गर्दै संवाद अझै जारी रहेको उल्लेख गरे । साथै कूटनीतिक हस्तक्षेप नभएको भए अमेरिका इरानविरुद्ध व्यापक सैन्य आक्रमण गर्न तयार रहेको दाबी पनि उनले गरे।






















