क्यापिटल वनले बन्द गर्यो ट्रम्प अर्गनाइजेशनको बैंक खाता


सान फ्रान्सिस्को । अमेरिकी बैंक क्यापिटल वन फाइनान्सियलले राष्ट्रपति डोनाल्ड ट्रम्पको पारिवारिक व्यवसाय ट्रम्प अर्गनाइजेशनसँग सम्बन्धित ३०० भन्दा बढी बैंक खाताहरू बन्द गरेका छ ।
खाता बन्द गर्नुको कारण राजनीतिक नभई अवैध धन शुद्धीकरणसम्बन्धी जोखिमको समीक्षा भएको बैंकको भनाइ छ । बैंकले अदालतमा दायर गरेको दस्तावेजमा खाताहरू बन्द गर्ने निर्णय आफ्नो एन्टी–मनी लान्ड्रिङ टोलीले महिनौँसम्म गरेको विस्तृत अध्ययन र बैंकको आन्तरिक नीति तथा नियामक निर्देशिकाअनुसार गरिएको दाबी गरेको छ ।
यद्यपि, क्यापिटल वनले अर्गनाइजेशनले अवैध मनी लान्ड्रिङ गरेको आरोप भने लगाएको छैन । ट्रम्प अर्गनाइजेशन र ट्रम्पका छोरा एरिक ट्रम्पले सन् २०२५ को मार्चमा फ्लोरिडाको संघीय अदालतमा मुद्दा दायर गर्दै बैंकले आफ्नो राजनीतिक विचारका कारण खाताहरू बन्द गरेको आरोप लगाएका थिए ।
उनीहरूले सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद भवन (क्यापिटल)मा भएको दंगापछि सिर्जिएको राजनीतिक वातावरणको प्रभावमा बैंकले यस्तो निर्णय गरेको दाबी गरेका थिए ।
क्यापिटल वनले ट्रम्प अर्गनाइजेशनका आरोपहरूलाई भ्रामक र आंशिक प्रमाणमा आधारित भन्दै खारेज गर्न आग्रह गरेको छ । बैंकका अनुसार खातामा देखिएका केही कारोबारहरू अमेरिकी बैंकिङ नियामकहरूले विशेष निगरानी गर्नुपर्ने प्रकारका गतिविधिसँग मेल खाने भएकाले विस्तृत समीक्षा गरिएको थियो ।
मियामीको संघीय अदालतले यसअघि ट्रम्प पक्षका दुईवटा उजुरी खारेज गरिसकेको भए पनि संशोधित उजुरी पेश गर्ने अवसर दिएको थियो । बैंकले पछिल्लो संशोधित उजुरीमा पनि पहिलेकै कमजोरी रहेको दाबी गरेको छ ।





















