आपूर्ति अभाव अझ बढ्ने एप्पलको चेतावनी


क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले आगामी महिनाहरूमा म्याक, आइफोन र आइप्याडको आपूर्तिमा गम्भीर समस्या आउन सक्ने चेतावनी दिएको छ । कम्पनीको यो घोषणापछि कारोबारपछिको सेयर बजारमा एप्पलको सेयर मूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ ।
आपूर्ति समस्याको चेतावनीका बाबजुद एप्पलले पछिल्लो त्रैमासिकमा १०९ अर्ब अमेरिकी डलर राजस्व आर्जन गरेको जनाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशत बढी हो ।
उनले भने, ‘हामी अहिले निकै गम्भीर आपूर्ति सीमितताको सामना गरिरहेका छौँ र आपूर्ति शृङ्खलामा यसलाई छिट्टै समाधान गर्ने पर्याप्त लचकता छैन,’ । कम्पनीका अनुसार समस्याको एउटा प्रमुख कारण उन्नत माइक्रोचिपको अभाव हो । एप्पलका अधिकांश यस्ता चिप ताइवानको टीएसएमसी कम्पनीले उत्पादन गर्दै आएको छ । वास्तविक समस्या उत्पादनभन्दा पनि अपेक्षाभन्दा धेरै बढेको माग रहेको टिम कुकले स्पष्ट पारेका छन् ।
जुनसम्मको त्रैमासिकमा आइफोन बिक्री २२ प्रतिशत र म्याक बिक्री २५ प्रतिशतले बढेको छ । यसअघि कम्पनीले आइफोन १७ आफ्नो इतिहासकै सबैभन्दा सफल प्रारम्भिक बिक्री भएको मोडेल बनेको जनाएको थियो । एप्पलले पछिल्लो तीन महिनामा अतिरिरक्त भन्सार महसुल (ट्यारिफ) फिर्ताबाट करिब १ अर्ब १० करोड डलर बराबरको लाभ प्राप्त गरेको जनाएको छ ।
टिम कुकका अनुसार उक्त रकम अमेरिकामै पुनः लगानी गरिनेछ । कम्पनीले आगामी चार वर्षमा ६०० अर्ब अमेरिकी डलर अमेरिकी उत्पादन तथा उत्पादन पूर्वाधार विस्तारमा लगानी गर्ने योजना दोहोर्याएको छ । एप्पलले आफ्नो नयाँ सिरी एआई अहिले सार्वजनिक परीक्षण (बिटा) चरणमा रहेको जनाएको छ । कुकका अनुसार नयाँ सिरी कम्पनीका लागि कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा ठुलो अवसर हुनेछ । उनले उपकरणमै एआई सञ्चालन हुने प्रविधि एप्पलको महत्त्वपूर्ण प्रतिस्पर्धात्मक क्षमता बन्ने विश्वास व्यक्त गरे । युरोपेली सङ्घका नियामकहरूसँग छलफल जारी रहेको र नयाँ सिरीलाई विश्वभर एकै समयमा उपलब्ध गराउने लक्ष्य रहेको पनि उनले बताए ।





















