देवानगञ्ज घटना : आज ओमप्रकाश र जयप्रकाशको अन्तिम संस्कार गरिँदै


सुनसरी। सुनसरीको देवानगञ्जको मदरसाको कानुनी हैसियतसहितका विषयमा छानबिन हुने भएको छ । गृहमन्त्री र पीडितपक्षबीच भएको ७ बुँदे सम्झौतामा तत्काल छानबिन सुरु गर्ने उल्लेख छ । बिहीबार देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते भएको घटनामा परी मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको अभिभावक र गृह मन्त्रालयबीच सम्झौता भएको हो ।
सम्झौतामा मृतकद्वयलाई सरकारले सहिद घोषणा गर्ने, मृतकका परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई कार्बाही गर्ने उल्लेख छ ।
मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयबारे आवश्यक छानबिन तत्काल सुरु गर्ने, मृतकका परिवारका एकजना योग्य सदस्यलाई रोजगारको अवसर उपलब्ध गराउने, उक्त घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिस तत्काल कार्यान्वन गर्ने, मृतकद्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने र शुक्रबार (आज) दिउँसो २ मृतकको अन्तिम संस्कार गर्ने सम्झौतामा उल्लेख छ ।





















