प्रबास

सैन्य खरिद प्रणाली सुधार्ने प्रयास गर्दा पदबाट हटाइयोः पूर्व युक्रेनी रक्षा मन्त्री

एजेन्सी
२०८३ साउन १४ | मध्यान्ह ०१:०४ बजे

किभ । युक्रेनका पूर्व रक्षा मन्त्री मिखाइलो फेदोरोभले सैन्य सामग्री खरिद प्रणालीमा सुधार गर्न थालेपछि आफूलाई पदबाट हटाइएको बताएका छन् । बुधबार प्रकाशित उक्राइन्स्का प्राभ्दासँगको अन्तर्वार्तामा ३५ वर्षीय फेदोरोभले रक्षा मन्त्रालयभित्रको खरिद प्रक्रियामा व्यापक सुधार गर्न खोज्दा मन्त्रालयभित्र र बाहिरका केही अधिकारीबाट तीव्र विरोध भएको दाबी गरेका हुन् ।

‘मलाई पदबाट हटाइनुको मुख्य कारण सैन्य खरिद प्रक्रिया, टेन्डर प्रणाली र त्यस क्षेत्रमा हामीले सुरु गरेको सुधार हो । यसले धेरै मानिसलाई असन्तुष्ट बनायो र उनीहरूले राष्ट्रपति वरिपरि तथा सञ्चारमाध्यममा लगातार नकारात्मक प्रभाव पार्ने प्रयास गरे,’ उनले भने । फेदोरोभका अनुसार मन्त्री बनेपछि उनले सबैभन्दा पहिले पारदर्शी टेन्डर प्रणाली लागू गर्ने काम सुरु गरेका थिए । साथै रक्षा मन्त्रालयको व्यवस्थापन संरचना पुनर्गठन गरी योग्य व्यक्तिलाई जिम्मेवारी दिने योजना अघि बढाइएको थियो ।

उनले भने, समस्याको जरो हटाउन आधारभूत संरचनामै परिवर्तन आवश्यक रहेको विश्वासका साथ आफूले काम गरेको बताए । यसै महिना राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ले मन्त्रिपरिषद् पुनर्गठन गर्दा फेदोरोभलाई पदमुक्त गरेका थिए । उनको स्थानमा यसअघि युक्रेन सुरक्षा सेवा (एसबीयू)का प्रमुख रहेका येभहेनी ख्मारा लाई रक्षा मन्त्री नियुक्त गरिएको थियो । उही पुनर्गठनमा तत्कालीन प्रधानमन्त्री युलिया स्विरिदेन्को पनि पदबाट हटाइएकी थिइन् ।

फेदोरोभका समर्थकहरूले युद्धको मैदानमा रुसको पूर्वाधारमाथि गरिएका सफल आक्रमणमा उनको महत्वपूर्ण भूमिका रहेको दाबी गरेका छन् । उनलाई हटाइएपछि उनको पुनर्बहालीको माग गर्दै केही दिनसम्म प्रदर्शनसमेत भएका थिए । राष्ट्रपति जेलेन्स्कीले फेदोरोभ र तत्कालीन सेनाका प्रमुख ओलेक्सान्द्र सिस्र्की बीच मतभेद रहेको बताएका थिए। पछि सिस्र्कीलाई पनि पदबाट हटाइएको थियो ।

तर फेदोरोभले आफू र सिस्र्कीबीच व्यक्तिगत विवाद नभएको स्पष्ट पारे । उनका अनुसार दुवै पक्षबीच युद्ध सञ्चालनको दृष्टिकोण (रणनीतिक सोच) मा मात्र फरक मत थियो । राष्ट्रपति जेलेन्स्कीले संसदमा सत्तारुढ दलको बैठक बस्नुभन्दा करिब एक घण्टा अघि मात्र आफूलाई पदबाट हटाइने निर्णयबारे जानकारी गराएको पनि उनले बताए ।

कमेन्टहरु