होर्मुजपछि लाल सागरमा चर्कियो तनाव, विश्व बजारमा पर्छ असर ?


काठमाडौं । पश्चिम एशियामा महिनौँदेखि जारी तनाव थप चर्किएको छ । यो संघर्ष होर्मुज जलमार्गपछि लाल सगरसम्म पुगेको छ । खासगरी लाल सागरमा केन्द्रित हुने हुथी विद्रोहीको आक्रमण पछिल्लो समय व्यापारिक जहाजमा मात्र सीमित छैन । साउदी अरबका तेल पूर्वाधारहरू पनि प्रत्यक्ष निशानामा पर्न थालेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै साउदी अरबसँग असैनिक आणविक सहकार्य सम्झौता गरेका छन् । त्यसपछि यो क्षेत्रको तनाव थप चर्कने देखिएको छ ।
हुथी विद्रोहीका आक्रमणले सम्पूर्ण क्षेत्रको सुरक्षा तथा विश्वव्यापी ऊर्जा बजारलाई लिएर चिन्ता बढाएको छ । यमनका हुथी विद्रोहीहरूले साउदी अरबका जिजान र यान्बुमा रहेका ‘साउदी अरामको’का तेल पूर्वाधारलाई निशाना बनाएको दाबी गरेका छन् ।
यो दाबी पुष्टि भए यो साउदी अरबमाथिको आक्रमण मात्र नभई विश्वव्यापी ऊर्जा आपूर्ति र अमेरिकाको पश्चिम एसिया नीतिमाथिको प्रत्यक्ष चुनौतीका रूपमा पनि हेरिने विश्लेषण गरिएको छ ।
हुथीहरूले किन बदले निशाना ?
हुथी समूहका सैन्य प्रवक्ता याह्या साडीले जिजान र यान्बुका तेल पूर्वाधारमाथि सैन्य अभियान सञ्चालन गरेको बताएका छन् । साउदी सरकारले भने आक्रमणको आधिकारिक पुष्टि गरेको छैन ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा जिजानस्थित अरामको रिफाइनरीबाट कालो धुवाँ उठिरहेको देखिएको छ, जसले त्यहाँ आक्रमण भएको आशंका बलियो बनाएको छ ।
ग्रीसको सुरक्षा स्रोतका अनुसार यमनबाट प्रहार गरिएका दुईवटा ब्यालिस्टिक मिसाइल साउदी वायु रक्षा प्रणालीले यान्बु पुग्नुअघि नै खसालेको थियो ।
यसअघि हुथीहरूले साउदी आक्रमणको बदला लिने धम्की दिएका थिए भने साउदी प्रशासनले जिजान र यान्बुका बासिन्दालाई पूर्वसावधानी अपनाउन चेतावनी जारी गरेको थियो ।
लाल सागरमा हुथीको आक्रामकता
यसअघि हुथी विद्रोहीहरूले मुख्य रूपमा इजरायलसँग सम्बन्धित वा पश्चिमी मुलुकका जहाजहरूलाई निशाना बनाउँदै आएका थिए । अहिले उनीहरूले साउदी अरबविरुद्ध मोर्चा खोलेका छन् । यसले लाल सागरको द्वन्द्वको स्वरूप परिवर्तन गरिदिएको छ ।
केही दिनअघि हुथीहरूले साउदी अरबविरुद्ध समुद्री नाकाबन्दी घोषणा गरेका थिए । उनीहरूले लाल सागरमा साउदीसँग सम्बन्धित दुईवटा जहाजमाथि आक्रमण गरेको दाबी गरेका थिए । त्यसमध्ये एउटा घटनाको पुष्टि साउदीले पनि गरेको थियो । तेल पूर्वाधारमाथिको पछिल्लो आक्रमणले यो द्वन्द्वलाई अझ संवेदनशील बनाएको छ ।
साउदी अरबको चिन्ता
साउदी अरब विगत केही वर्षदेखि यमन युद्धबाट टाढा रहँदै आर्थिक सुधार कार्यक्रम ‘भिजन २०३०’ मा केन्द्रित हुन चाहन्थ्यो । चीनको मध्यस्थतामा इरान र साउदी अरब सम्बन्ध सुधारतर्फ पनि अघि बढेका थिए ।
तर, हुथी आक्रमणले साउदीको सुरक्षा रणनीतिलाई फेरि चुनौती दिएको छ ।
साउदी समर्थित यमेनी सरकारले पनि सैन्य कारबाही तीव्र बनाएको छ । सैन्य अधिकारीहरूका अनुसार सरकारी विमानहरूले मारिब र अल–जौफ प्रान्तमा रहेका हुथीका मिसाइल तथा ड्रोन प्रक्षेपणस्थल र हतियार भण्डारहरूमा हवाई आक्रमण गरेका छन् । यसले द्वन्द्व चर्किने जोखिम बढाएको बताइएको छ ।
ट्रम्प–साउदी आणविक सम्झौतापछि बढ्यो तनाव
विश्लेषकहरूका अनुसार ट्रम्प प्रशासनले साउदी अरबसँग असैनिक आणविक सहकार्य अघि बढाउनु ऊर्जा सहकार्य मात्र नभई इरानको बढ्दो प्रभावको रणनीतिक जवाफ पनि हो ।
अमेरिका यस क्षेत्रमा साउदी अरबलाई बलियो रणनीतिक साझेदारका रूपमा कायम राख्न चाहन्छ । साउदी अरबको रणनीतिक क्षमता बढाउने अमेरिकी कदमलाई इरान र उसका सहयोगीहरूले आफूविरुद्ध क्षेत्रीय शक्ति सन्तुलन मोड्ने प्रयासका रूपमा हेर्छन् ।
यही कारण आणविक सम्झौतापछि साउदी पूर्वाधारमाथि भएका आक्रमणलाई सैन्य कारबाही मात्र नभई राजनीतिक सन्देशका रूपमा पनि व्याख्या गरिएको छ ।
लाल सागर र होर्मुजमा तनाव
अमेरिका र इजरायलले आक्रमण गरेपछि इरानले होर्मुज जलमार्गमा दबाब बढाएको थियो । अहिले लाल सागरमा हुथीहरूको आक्रामकता बढाएका छन् । यसले विश्वका दुई प्रमुख समुद्री ऊर्जा मार्ग जोखिममा परेका छन् ।
होर्मुजबाट विश्वको ठूलो परिमाणमा तेल ओसारपसार हुन्छ भने लाल सागर र बाब–अल–मन्देब जलमार्ग युरोप र एसियाबीचको व्यापारको प्रमुख मार्ग हुन् ।
यी दुवै मार्ग अस्थिर भए अन्तर्राष्ट्रिय तेल मूल्य, ढुवानी लागत र विश्वव्यापी मुद्रास्फीतिमा ठूलो प्रभाव पर्न सक्ने विश्लेषण गरिएको छ ।
इरानबारे ट्रम्पको संकेत
ट्रम्पले अमेरिका तत्काल इरानविरुद्ध ठूलो सैन्य अभियान विस्तार गर्ने पक्षमा नरहेको उल्लेख गर्दै वार्ताको ढोका खुला राख्न चाहेको बताएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “हामी उनीहरूसँग वार्ता गरिरहेका छौँ । मलाई लाग्छ यसपालि उनीहरू पहिलेभन्दा धेरै गम्भीर छन् । तर, यसको अर्थ सम्झौता निश्चित भइसकेको भन्ने होइन ।”
उनले आवश्यक परे अमेरिका सैन्य कारबाहीका लागि पूर्ण रूपमा तयार रहेको पनि बताए । इरान आणविक हतियार क्षमताको नजिक पुग्नु अमेरिकाका लागि अझै पनि ‘रेड लाइन’ रहेको दोहोर्याए । आफूलाई रुस वा चीनले इरानलाई हतियार उपलब्ध गराइरहेको जस्तो नलागेको ट्रम्पले बताए । यद्यपि, सम्भावित गुप्तचर सहकार्यबारे विभिन्न रिपोर्ट सार्वजनिक भइरहेका छन् ।
उता, चीनले पनि कूटनीतिक सक्रियता बढाएको छ । चीनका परराष्ट्रमन्त्री वाङ यीले किर्गिजस्तानमा इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीसँग भेटवार्ता गरेका छन् ।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार दुवै नेताले पश्चिम एसिया तथा खाडी क्षेत्रमा तनाव कम गर्न समझदारीपत्र आवश्यक रहेको विषयमा छलफल गरेका छन् ।





















