दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, प्रबास

याक्थुङ/लिम्बू समुदायको सिसेक्पा तङ्नाम दुबईमा भव्य उत्सवका साथ सम्पन्न

कबिराज राजबंशी
२०८३ साउन ७ | बिहान ०१:०४ बजे

प्रवास दुबई, यूएई — किरात याक्थुङ चुम्लुङ (कियाचु) यूएईद्वारा आयोजित याक्थुङ/लिम्बू समुदायको मौलिक चाड सिसेक्पा तङ्नाम ५०८६ जुलाई १९, २०२६ आइतबार बरदुबईस्थित याक एण्ड यति रेस्टुरेन्टको हलमा भव्य रूपमा सम्पन्न भएको छ।

IMG 20260722 WA0020

कियाचु यूएईका अध्यक्ष श्री पोबो थेबे सेमीको सभापतित्व तथा नेपाल आदिवासी जनजाति महासंघ यूएईका अध्यक्ष श्री भागिरथी कुमार भगतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा यूएईमा रहेका विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, याक्थुङ/लिम्बू समुदायका अगुवा, कलाकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

IMG 20260722 WA0004

कार्यक्रममा नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तान, सावारा साम्बा भवानी अन्छङ्बो, कियाचुका संस्थापक सदस्य, संरक्षक, सल्लाहकार, क्षेत्रीय समिति प्रतिनिधि, नेफिन यूएईका पदाधिकारी, फोनिज यूएई लगायत विभिन्न जातीय तथा जिल्ला संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

मौलिक परम्पराअनुसार केलाङ–लाम्दाक प्रस्तुतिपछि अतिथिहरूको आसन ग्रहण, दीप प्रज्वलन तथा नेपालको राष्ट्रिय गानसँगै औपचारिक कार्यक्रम शुभारम्भ गरिएको थियो। कियाचु यूएईका वरिष्ठ उपाध्यक्ष गोबिन्द कुमार लुम्फुङ्वाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा संयोजक तथा प्रथम उपाध्यक्ष मनिषा खाम्दाक इङ्गाषाले धन्यवाद तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा उपस्थित अतिथि तथा प्रमुख अतिथिहरूले सिसेक्पा तङ्नामको महत्वबारे शुभकामना मन्तव्य राखेका थिए।

याक्थुङ/लिम्बू समुदायका लोकप्रिय कलाकार दिनेश कुमार लिम्बूले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो। कियाचु यूएईका सल्लाहकारहरू डम्बर लिबाङ, खड्क पंधाक, शारजाह क्षेत्रीय समितिका अध्यक्ष खड्क सिंजाङ्गो लगायतले सिसेक्पा तङ्नामको मूल उद्देश्यअनुसार अनिकाल हटाई सहकाल भित्राउने परम्परागत विधि सम्पन्न गर्नुभएको थियो।

कार्यक्रमको प्रमुख प्रायोजन थुप्पोको थेबे लिम्बू समाज यूएई तथा सह–प्रायोजन नाङ्लो रेस्टुरेन्ट बरदुबईले गरेका थिए। सहयोगी तथा प्रायोजकहरूलाई आयोजक समितिले मायाको चिनो प्रदान गरी सम्मान गरेको थियो।

औपचारिक कार्यक्रमको समापन गर्दै कियाचु यूएईका अध्यक्ष पोबो थेबे सेमीले सम्पूर्ण सहयोगी, अतिथि तथा सहभागीहरूप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो। औपचारिक कार्यक्रमपछि आयोजित सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो। केलाङ कलाकारहरूको विधिपूर्वक बिदाइसँगै कार्यक्रम सम्पन्न गरिएको थियो।

कार्यक्रमको सञ्चालन महासचिव भूमि इधिङ्गो यम्भामी र सचिव दिलीप आङ्देम्बेले गर्नुभएको थियो भने सांस्कृतिक कार्यक्रम सञ्चालन संस्कृति विभाग प्रमुख संगिता कुरुम्बाङ र सचिव दिलीप आङ्देम्बेले संयुक्त रूपमा गर्नुभएको थियो।IMG 20260722 WA0023

आयोजक किरात याक्थुङ चुम्लुङ यूएईले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, प्रायोजक, सहयोगी, कलाकार, स्वयंसेवक, सञ्चारकर्मी तथा सम्पूर्ण सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।

कमेन्टहरु