तीन महिनाभित्र वधशाला ऐन लागू गर्न निर्देशन


काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र पशु वधशाला र मासु जाँच ऐन, २०५५ कार्यान्वयन गर्न निर्देशन दिएकी छन् ।
शुक्रबार काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँग छलफलका क्रममा उहाँले प्रक्रिया सुरु गरेर प्रभावकारी रुपमा ऐन कार्यान्वयनका लागि निर्देशन दिएकी हुन् ।
स्थानीय तह नागरिकसँग प्रत्यक्ष जोडिएको निकाय भएकाले वधशाला व्यवस्थापन, मासु पसलको अनुगमन, मासु परीक्षण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।
मन्त्री चौधरीले पशु ढुवानी, वध प्रक्रिया र मासु वितरण प्रणालीलाई समेत व्यवस्थित तथा नियमन गर्नुपर्ने आवश्यकता औँल्याउँदै धार्मिक तथा सांस्कृतिक परम्परालाई सम्मान गर्ने गरी ऐनमा आवश्यक लचकता राखिएको जानकारी दिइन् । मन्त्रालयले ऐन कार्यान्वयनका लागि आवश्यक सहजीकरण, समन्वय र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।






















