प्रबास

स्पेनसँगको सबै व्यापारिक सम्बन्ध तोड्न ट्रम्पको आदेश

एजेन्सी
२०८३ असार २४ | मध्यान्ह ०५:०३ बजे

अङ्कारा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापारिक सम्बन्ध तत्काल रोक्न आफ्नो प्रशासनलाई आदेश दिएका छन्। टर्कीको अङ्कारामा आयोजित नेटो शिखर सम्मेलनको साइडलाइनमा नेटो प्रमुख मार्क रुटसँगै सञ्चारकर्मीहरूमाझ कुरा गर्दै ट्रम्पले यस्तो घोषणा गरेका हुन्।

उनले अमेरिकी वित्तीय मन्त्री स्कट बेसेन्टलाई स्पेनसँगको सम्पूर्ण व्यापारिक तथा व्यावसायिक सम्बन्ध तत्कालै तोड्न आदेश दिएको स्पष्ट पारे। स्पेनलाई नेटोको एउटा ‘खराब साझेदार’ को संज्ञा दिँदै ट्रम्पले उनीहरूले नेटोमा न त सहभागिता जनाउने, न त पैसा नै तिर्ने गरेको आरोप लगाए।

इरानसँगको युद्धका क्रममा नेटो सदस्य राष्ट्रहरूले अमेरिकालाई पर्याप्त सहयोग नगरेको भन्दै ट्रम्पले अङ्कारा सम्मेलनमा तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन्। यसअघि गत मार्च महिनामा स्पेनले इरान विरुद्धको सैन्य अभियानका लागि आफ्नो भूमिमा रहेका संयुक्त सैन्य बेसहरू प्रयोग गर्न नदिने घोषणा गरेको थियो।

साथै स्पेनले युद्धमा संलग्न अमेरिकी विमानहरूका लागि आफ्नो हवाई क्षेत्र समेत बन्द गरिदिएको थियो। यही पृष्ठभूमिमा ट्रम्पले स्पेन विरुद्ध कडा कदम चालेका हुन्।

ट्रम्पको छेउमै बसेका नेटो प्रमुख रुटले अमेरिकी अभियानको समर्थनमा युरोपेली विमानस्थलहरूबाट ५ हजार विमानहरू उडिरहेको भन्दै युरोप अमेरिकाका लागि एउटा ठूलो शक्ति प्रक्षेपणको मञ्च बनेको तर्क राखेका थिए। तर ट्रम्पले रुटको कुरामा असहमति जनाउँदै बेलायतले आफ्ना सबै सैन्य बेसहरू प्रयोग गर्न नदिएको र इटालीले पनि बेसहरू दिएर अमेरिकालाई सहयोग गर्ने मामिलामा निकै खराब भूमिका खेलेको भन्दै जवाफ फर्काए।

स्पेनसँगको व्यापार रोक्ने ट्रम्पको आकस्मिक आदेशप्रति स्पेनका प्रधानमन्त्रीको कार्यालयले प्रतिक्रिया दिएको छ। म्याड्रिडले अमेरिकी धम्कीलाई सामान्य रूपमा लिएको जनाएको छ।

स्पेनको प्रधानमन्त्री कार्यालयले जारी गरेको आधिकारिक विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो देशको अमेरिकासँग उत्कृष्ट सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्ध छ र यसमा कुनै परिवर्तन गर्ने हाम्रो उद्देश्य छैन।’

कमेन्टहरु